एजेन्सी– विश्वभर बालविवाहको दर उल्लेख्य मात्रामा घटेको छ। युनिसेफले दिएको जानकारीअनुसार पछिल्लो एक दशकमा २ करोड ५० लाखको संख्यामा बालविवाह घटेको छ।
१० वर्षअघिको समयमा १८ वर्ष उमेर नपुगेका प्रत्येक ४ जनामा १ जनाको विवाह हुने गरेकोमा हाल प्रत्येक ५ मा १ जनाको मात्रै विवाह हुने गरेको छ।
दक्षिण एसियाका देशहरुमा ठुलो संख्यामा बालबालिकाहरुको विवाह हुने क्रम घटेको युनिसेफले जनाएको छ।
महिला शिक्षा तथा कम उमेरमा विवाह गर्दा निम्तिने समस्याहरुको बारेमा सर्वसाधरणमा जानकारी दिनु नै सो संख्या घट्नुको प्रमुख कारण मानिएको छ।
बालबालिकाको क्षेत्रमा काम गर्दै आउको संयुक्त राष्ट्र संघीय संगठन युनिसेफले हाल अफ्रिका महादेशमा भने बालविवाहको समस्या उस्तै रहेको बताएको छ। तर इथियोपियाले भने बालविवाहको दरलाई ठुलो अनुपातमा घटाउँदै बालविवाह घटाउने देशको सूचीमा आफुलाई तेस्रो स्थानमा राख्न सफल भएको छ।
‘सब–साहारन अफ्रिका’ भनेर चिनिने साहारा मरुभुमीको दक्षिणी देशहरुमा भने बालविवाहको दर सबैभन्दा उच्च छ। जनसंख्या वृद्धि प्रमुख समस्या भएकोले उक्त क्षेत्रमा धेरै नै सुधारको आवश्यक रहेको युनिसेफले औँल्याएको छ।
सो क्षेत्रमा दशकअघि ५ मध्ये १ जना बालबालिकाको विवाह हुने गरेकोमा हाल सो संख्या बढेर ३ मा १ जना पुगेको छ।
संयुक्त राष्ट्र संघको स्थायी विकास लक्षअन्तर्गत विश्वका नेताहरुले भने सन् २०३० सम्म बालविवाहलाई रोक्न प्रतिवद्धता जनाएका छन्। सो लक्ष निर्धारित समयमा नै पुरा गर्न हरेक राष्ट्रले आफ्नो शक्ति तथा गतीलाई बढाउनुपर्नेमा युनिसेफले जोड दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।