लिबाङ, रोल्पा- रोल्पामा फागुन महिनामा मात्र १२ दिनको बीचमा छुट्टाछुट्टै स्थानमा एक किशोरी र एक महिला गरी दुई जना बलात्कृत भएका छन्। पीडित पक्षबाट उजुरी परेपछि सो जानकारी आएको जिल्ला प्रहरी कार्यालय रोल्पाले आज जनाएको छ।
सुनछहरी गाउँपालिका फगाम रोल्पाका १७ वर्षीय किशोरले सोही गाउँपालिकामा पर्ने भित्री गामकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। इलाका प्रहरी कार्यालय सुलिचौर, रोल्पाका अनुसार किशोर र किशोरीका बीच आठ/नौ महिनादेखि टेलिफोनमा सम्पर्क हुँदै आएको थियो।
यसरी टेलिफोनमा हुने कुराकानीका क्रममा किशोरले किशोरीलाई विभिन्न किसिमका प्रलोभनमा पारेर आफ्नो घरमै लगी बलात्कार गरेको पीडित किशोरीको जाहेरीमा उल्लेख छ। पीडित पक्षबाट इप्रका सुलिचौरमा गतः बुधबार निवेदन परेपछि प्रहरी टोली घटनास्थलमा पुगी विस्तृत जानकारी लिएको थियो। अनुसन्धानपश्चात आवश्यक कारबाहीका लागि प्रहरीले प्रक्रिया अगाडि बढाउने पनि जनाएको छ।
यसैगरी, रुन्टीगढी गाउँपालिका रोल्पाकी २८ वर्षीया महिलालाई १८ देखि २४ वर्ष उमेर समूहका ५ जना युवकले फागुन पहिलो साता सामूहिक बलात्कार गरेको भनी उजुरी परेको इलाका प्रहरी कार्यालय, होलेरी, रोल्पाले जनाएको छ। साँझ करिब ७ बजेतिर गाउँकै पसलबाट आवश्यक खाद्य सामग्री लिएर फर्कने क्रममा ती महिला बलात्कृत भएकी हुन्।
इप्रका रोल्पाका प्रनानी खडकबहादुर डाँगीका अनुसार ४ जना अभियुक्तलाई हाल प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि हिरासतमा राखिसकेको छ भने एक जना फरार छन्। इलाका प्रहरी कार्यालयमा जाहेरी दिएपछि घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिप्रका रोल्पाका मुद्दा फाँटका प्रहरी नायब निरीक्षक हेमन्त केसीले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।