म्यानचेस्टर– नेमाञ्जा माटिकले इन्जुरी टाइममा गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा रोमाञ्चक जित हात पारेको छ। युनाइटेडले सोमबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई ३–२ गोलले पराजित गरेको हो।
उत्कृष्ट पुनरागमन गरेको म्यानचेस्टरले २–० गोलले पछि परेको स्थिति उल्टाएको हो। खेलको ११ मिनेटमा टाउनसेन्ट र ४८ मिनेटमा भान आनहोल्टले गोल गरेपछि प्यालेसले २–० गोलको अग्रता लिएको थियो।
५५ मिनेटमा स्मलिङले गोल गरेर प्यालेसको अग्रता २–१ मा झारे। ७६ मिनेटमा लुकाकुले बराबरी गोल गरेपछि म्यानचेस्टरलाई राहत मिलेको थियो।
माटिकले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरेपछि म्यानचेस्टरले सनसनीपूर्ण जित हात पार्न सफल भयो। माटिकले २५ यार्ड टाढाबाट हानेको प्रहारले सिधै जाली चुमेको थियो।
प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टरले २९ खेलबाट ६२ अंक जोडेको छ। शीर्ष स्थानको म्यानचेस्टर सिटीको समान खेलबाट ७८ अंक छ। तेस्रो स्थानको लिभरपुलको ६०, चौथो स्थानको टोटनह्यामको ५८ र पाँचौ स्थानको चेल्सीको ५३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।