म्यान्चेस्टर– चेल्सीलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिगको उपाधिनजिक पुगेको छ। घरेलु मैदान इतिहाद स्टेडियममा बर्नान्डो सिल्भाको निर्णयक गोलको मदतले सिटी विजयी भएको हो।
लगातार दुई खेलमा गोल गर्ने क्रममा पहिलो हाफको अन्तिम मिनेटमा सिल्भाको प्रहारले गोलपोष्टको दिशा लिएको थियो। त्यसपछि कुनै पनि टोलीबाट गोल हुन नसकेकपछि सोहि गोल नै सिटीको जितका लागि निर्णयक बन्न पुग्यो।
खेल अवधिभर सिटीका अघि चेल्सी निकै निरीह देखिएको थियो। चेल्सीको एक सट पनि गोलपोष्ट केन्द्रित हुन नसकेको खेलमा ७१ प्रतिशत समय सिटीले आफ्नो पक्षमा बल खेलाएको थियो।
खेलको लामो समय चेल्सीको क्षेत्रमा बल रहेकाले सिटीका गोल किपर एडर्सन पनि दर्शकको भुमिकामा बसेको जस्तो देखिन्थ्यो। उता आफ्नो पक्षमा खेल रहेपनि सिटीका फरवार्ड गोल थप्नबाट चुकेका थिए।
यो हार चेल्सी र म्यानेजर एन्टोनियो कोन्टेका लागि आगामि सिजनको च्याम्पियन्स लिग खेल्ने लक्षमा बाधक बन्नसक्छ। प्रिमियर लिगमा शिर्ष ४ मा रहेर च्याम्पियन्स लिग खेल्ने बाटो बनाउन चेल्सीले अंक तालिकामा ५ अंकले माथि रहेको टोटनह्याम हट्सपरलाई विस्थापित गर्नुपर्ने हुन्छ।
जितसँगै सिटीले दोस्रो स्थानको लिभरपुलसँगको अंकदुरी १८ पुर्याएको छ। प्रिमियर लिगमा सन् २००६ को मार्चपछि पहिलो र दोस्रो स्थानमा रहेका टोलीबिचमा अंकदुरी धेरै भएको यो पहिलो पटक हो।
चेल्सीले यो खेलसँगै समग्रमा सबै प्रतियोगितामा गरि घरबाहिर लगातार ४ खेलमा हार बेहोरेको छ। सन् २००३ को जनवरीपछि चेल्सीका लागि यो निराशाजनक क्षण हो। पछिल्लो पटक उसले दुई पटक म्यानचेस्टर युनाइटेडसँग तथा लिड्स र आर्सनलसँग एक–एक पटक खेल सुम्पेको छ।
प्रिमियर लिगअन्तर्गत गएराति भएको अर्को खेलमा आर्सनल ब्रिघटन एन्ड होभ अल्विवनसँग २–१ ले पराजित भयो।
खेलमा सबै गोल पहिलो आफमा नै भएका थिए। ब्रिघटनका डंकले सातौँ मिनेटमा टोलीलाई अग्रता दिलाएको खेलमा २६ मिनेटमा मुर्रेले अग्रता दोब्बर पारे। पहिलो हाफको खेल सकिन २ मिनेट बाँकि रहँदा आर्सनलका औबामेयाङ्गले एक गोल गरेपनि टोलीलाई हारबाट टार्न सकेनन्।
प्रिमियर लिगमा आज हुने एक मात्र खेलमा क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।