बार्सिलोना– स्टार स्ट्राइकर लियोनल मेसीले फ्रिकिकमार्फत गोल गरेपछि लालिगाको आइतबार भएको खेलमा बार्सिलोनाले बलियो प्रतिद्वन्दी एथ्लेटिको मड्रिडलाई पराजित गरेको छ। बार्सिलोनाले अंक तालिकाको दोस्रो स्थानमा रहेको मड्रिडलाई १–० गोल अन्तरले पराजित गर्दै ८ अंकको दुरी बनाएको छ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका मेस्सीले खेलको २६ मिनेटमा प्रहार गरेको फ्रिकिक गोलमा परिणत भएको थियो। जारी सिजनमा २८ गोल गरिसकेका मेस्सीले फ्रिकिकबाट गरेको सो गोल उनको करिअरको ६ सयौँ गोल बन्न पुग्यो।
शक्तिशाली डिफेन्स रहेको एथ्लेटिको मड्रिडले बार्सिलोनालाई उसकै घरेलु मैदानमा खुलेर सट प्रहार गर्ने मौका दिएको थिएन। बार्साका सर्जियो बस्क्विटले गोलपोस्टको कर्नरबाट प्रहार गरेको भली सटलाई पाहुना टोलीका गोलकिपर जान ओब्लाकले निकै सुन्दर बचाउ गरेका थिए।
वार्साका कप्तान मिडफिल्डर आन्द्रेस इनियस्ता घाइते भएर मैदान छोड्नु परे पनि पूर्व लिभरपुल स्टार फिलिपे आउटिन्होले चुस्त फरवार्डको भुमिका निर्वाह गरे।
लियोनल मेसीले दोस्रो हाफमा प्रहार गरेको सट बारमा लागेर फर्किएको थियो। लुइस स्वारेजको प्रहार पनि गोलपोष्टको नजिकैबाट बाहिरिएको थियो।
उता खेलअवधिभर एथलेटिको मड्रिडकाे एक प्रहार मात्रै गोलपोष्टमा केन्द्रित थियो। मड्रिडका साउल निगुइजको हेडलाई घरेलु किपर मार्क आन्दे्र टेर स्टेजेनले सहज बचाउ गरेका थिए।
अन्तिम समयमा मड्रिडका म्यानेजर डिएगो सिमोनले खेल रणनिती परिवर्तन गर्दै ४ जना खेलाडिलाई फरवार्डको रुपमा उतारे पनि जेरार्ड पिक र सामुइल युम्टिटीको उत्कृष्ट डिफेन्सका अघि फलदायी हुन सकेन।
मेसीको करिअर
लियोनल मेसीले मड्रिडका विरुद्ध फ्रिकिकमार्फत गरेको निर्णयक गोल उनको करिअरको ६ सयौँ गोल बन्न पुग्यो। हालसम्म उनले ५ सय ३९ पटक क्लबबाट खेल्दा बललाई जाली चुमाएका छन्। अर्जेन्टिनाको राष्ट्रिय टोलीको जर्सी लगाएर उनले ६१ गोल गरिसकेका छन्।
८ पटकसम्म बार्सालाई लालिगा उपाधि दिलाउन उनले महत्वपूर्ण भुमिका निर्वाह गरेका छन्। उनकै प्रेरणामा बार्साले ४ पटक च्याम्पियन्स लिग र ५ पटक स्पेनिस कपको उपाधि हात पारेको छ।
लालिगाअन्तर्गत गएराति नै भएका अन्य खेलहरुमा भ्यालेन्सियाले रियल बेटिसलाई २–० तथा रियल सोसिडाडले अल्भेसलाई २–१ ले पराजित गर्यो। लेभान्टे र इस्पालियोलले भने १–१ गोलको बराबरी खेलेका छन्।
जितसँगै ६९ अंक रहेको बार्सा पहिलो स्थानमा यथावत रहँदा एथ्लेटिको मड्रिड ६१ तथा रियल मड्रिड ५४ अंकका साथमा क्रमशः दोस्रो र तेस्रो स्थानमा कायम छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।