जनकपुर- प्राचीन मिथिलाञ्चलको राजधानी तथा हालको प्रदेश २ को राजधानी जनकपुरमा आजदेखि विवाह पञ्चमी महोत्सवको विधिवत सुरुवात भएको छ। महोत्सवका लागि रामजानकी मन्दिर झकिझकाउ बनाइएको छ।
त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान् राम र जगत जननी माता जानकीबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा रामजानकी विवाह महामहोत्सवको रूपमा मनाइन्छ।
महोत्सव अन्तर्गत पहिलो दिन आज मंसिर १० गते जनकपुर नगर दर्शन, ११ गते फूलबारी लिला, १२ गते धनुषयज्ञ, १३ गते तिलकोत्सव, १४ गते मटकोर, १५ गते स्वयम्बर र शुभ विवाह र १६ राम कलेवासँगै विवाह पञ्चमी सम्पन्न हुनेछ।
राष्ट्रिय बिदाको माग
सीता–राम विवाह पञ्चमी महामहोत्सवमा राष्ट्रिय बिदा घोषण गर्न माग गरिएको छ। जानकी मन्दिरले प्रधानमन्त्री केपी ओली शर्मालाई चिठ्ठी लेखेको छ। मंसिर १५ गते परेको विवाह पञ्चमीका दिन बिदा घोषणा गरी पर्वको गरिमा बढाइदिन जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले प्रधानमन्त्रीलाई पत्र लेख्दै माग गरेका हुन्।
राष्ट्रपतिले जन्तीलाई स्वागत गर्ने
भारतको अयोध्यामा राम मन्दिर बन्ने पक्का भएसँगै सीताको माइती जनकपुरमा खुसियाली छ। भगवान् रामको ससुराली जनकपुरमा जन्तीलाई स्वागत गर्ने विशेष तयारी छ।
पाँच वर्षमा एक पटक अयोध्याबाट आउने विशेष जन्तीलाई विवाहपञ्चमी महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर १३ गते भव्य स्वागत गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ वैष्णवले बताए।
सुरक्षाको लागि पाँच हजार सुरक्षाकर्मी
विवाह पञ्चमीको गतिविधि सिसिटिभीबाट गरिने व्यवस्था मिलाइएको छ। जनकपुरभरिमा एक सय बढी सिसिटिभी क्यामेरा राखिने जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले जनाए।
सुरक्षा निगरानीका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त प्रहरी युनिट जानकी मन्दिरमा राखिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुरक्षा निगरानीको लागि सिसिटिभी उपलब्ध गराइएको छ।
एउटै मण्डपमा १०८ जोडीको विवाह
१५ मंसिर विवाह पञ्चमीका दिन १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ।
माता जानकीको जन्मभूमि जनकपुरधाममा १५ मंसिरमा हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण वर कन्याको सामूहिक विवाह हुन लागेको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताए।
जनकपुरस्थित जानकी मन्दिरसँगै रहेको मणिमण्डपमा विवाह पञ्चमीका दिन भगवान् रामचन्द्र र माता जानकीको विवाह हुने तथा सोही विवाहसँगै १०८ जोडी वर कन्याको सामूहिक विवाह हुने कार्यक्रम रहेको प्रमुख साहले बताए।
उनले प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट भगवान् रामचन्द्रको विशेष जन्ती, साधुसन्त, महात्मा र भारत सरकारका विभिन्न अधिकारी सहितका व्यक्तित्वहरु जनकपुर आउने गरेकामा यस पल्ट पनि त्यहाँबाट विशेष जन्ती हिँडिसकेको बताइएको छ।
प्रत्येक वर्ष विवाह पञ्चमीका अवसरमा भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम हुने गर्छ भने सोही विवाहसँगै सर्वसाधारणले पनि विवाह गर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।