रियो दि जेनेरियो- पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेइमारको गोलीगाँठोको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। आइतबार लिग वान अन्तर्गत मार्सेलीविरुद्ध ३–० को जीत निकाल्ने क्रममा नेइमार घाइते भएका थिए।
नेइमारको शनिबार बिहान ब्राजिलको बेलो होरिजोन्टेस्थित माटेर्डेयी अस्पतालमा शल्यक्रिया भएको हो।
शल्यक्रियापछि शनिबार क्लबले सार्वजनिक गरेको सूचनामा कम्तिमा ६ साताका लागि नेइमार मैदान बाहिर रहनेछन्। तर, ब्राजिलियन राष्ट्रिय फुटबल टोलीका चिकित्सक रोड्रिगो लासमारले भने नेइमारलाई ठिक हुन करिब ३ महिनामा लाग्ने बताएका छन्। उनले आगामि जुनमा हुने विश्वकपका लागि नेइमारले ब्राजिलको जर्सी लगाएर खेल्न सक्ने आशा व्यक्त गरे।
२ सय मिलियन पाउन्डको किर्तिमानी मूल्यमा पिएसजी पुगेका २६ वर्षीय ब्राजिलियन स्टारले यो सिजनमा लीग वानका बाँकी खेलहरु गुमाउनेछन्।
पिएसजीका प्रशिक्षक युनाइ इमेरीले च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडविरुद्ध आगामी साता हुने दोस्रो लेगमा नेइमार मैदानमा उत्रिने सम्भावना कम रहेको बताए। पिएसजीले पहिलो लेगको खेल ३–१ ले म्याड्रिडलाई सुम्पेको थियो।
‘लामो समय मैदान बाहिर रहनु परेकोमा दुःखी छु। तर, यस बाहेक अन्य कुनै उपाय छैन। अहिले छिटोभन्दा छिटो निको हुने प्रयासमा छु।’ नेइमारलाई उदृत गर्दै चिकित्सिक लासमारले भने।
पिएसजीको मेडिकल स्टाफ टोली र ब्राजिलियन राष्ट्रिय फुटबल टोली नेइमारलाई ३ दिनको विशेष हेरचाहपछि संयुक्त रुपमा शल्यक्रिया गर्ने निर्णयमा पुगेका थिए।
स्ट्राइकर नेइमार गत अगस्टमा बार्सिलोनाबाट पिएसजी गएका हुन्। जारी सिजनमा पिएसजीबाट उनले ३० खेलमा २९ गोल गरिसकेका छन्।
लिग वानमा शीर्ष स्थानमा रहेको पिएसजी दोस्रो स्थानमा रहेको मोनाकोभन्दा १४ अंकले अघि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।