सुर्खेत- शनिबारदेखि सुरु कर्णाली प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा सुर्खेतले विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा सुर्खेतले सल्यानलाई ९ विकेटले पराजित गर्दै सुखद् सुरुवात गरेको हो।
टस जितेको सुर्खेतले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको सल्यानले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय २५ रन बनायो। सल्यानका लागि राज थापाले ४४ र दिवान पुनले २८ रन बनाए । अन्य ब्याटसम्यानले उल्लेख्य रन जोड्न सकेनन्। बलिङतर्फ सुर्खेतका विशाल भट्टराई, रविन्द्रजंग शाही, टेक सलामी र निश्चल रावलले १–१ विकेट लिन सफल भए ।
एक सय २६ रनको लक्ष्य सुर्खेतले १२.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । सुर्खेतका लागि रविन्द्रजंग शाहीले ३४ बल खेल्दै ५० रन बनाए भने निश्चल रावलले ३३ बलमा ४० रन बनाए। उनीहरु दुवै जना नटआउट रहे। सल्यानका लागि दिवान पुनले १ विकेट लिए। खेलको म्यान अफ दि म्याच निश्चल बस्नेत भए।
प्रतियोगिता अन्तर्गत भोलि दुई खेल हुने आयोजक सुर्खेत जिल्ला क्रिकेट संघले जनाएको छ। पहिलो खेलमा दैलेख र रुकुम तथा दोस्रो खेलमा जुम्ला र जाजरकोटबीच प्रतिस्पर्धा हुनेछ।
पहिलो पटक आयोजित प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशका ६ जिल्लाको सहभागिता रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।