काठमाडौं– नेपाली क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने पछिल्लो एक महिना विश्व क्रिकेटमा चर्चित छन्। गत माघ १४ मा इन्डियन प्रिमयर लिग (आइपिएल) मा आवद्ध हुँदै इतिहास बनाएका सन्दीप बिहीबार राति क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा पनि छनोट हुन सफल भए।
करिअरमा ठूलो फड्को मारेका सन्दीपले एक महिनाको बीचमा झन्डै ५१ लाख रुपैयाँ कमाइसकेका छन्। सन्दीप आइपिएल टिम दिल्ली डेयरडेभिल्समा ३२ लाख नेपाली रुपैयाँमा आवद्ध भएका हुन्।
सरकारले आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा उपविजेता बनेको नेपाली टिमलाई जनही ३ लाख रुपैयाँ दियो। मदन भण्डारी क्रिकेट एकेडेमीले पनि नेपाली टिमलाई जनही १ लाख रुपैयाँ प्रदान गर्यो। दुवै पुरस्कार गरी सन्दीपको हातमा थप चार लाख रुपैयाँ पर्यो।
डिभिजन–२ मा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ दि सिरिज भएका सन्दीपलाई गत साता सानिमा बैंकले सम्मान गरेको थियो। बैंकले आइपिएलमा छनोट भएको तथा डिभिजन–२ मा उत्कृष्ट प्रदर्शन गरेका भन्दै सन्दीपसँग थप २ वर्षको प्रायोजन सम्झौता गर्यो। जबबापत सन्दीपले मासिक ४० हजार रुपैयाँ अर्थात् दुई वर्षमा ९ लाख ६० हजार रुपैयाँ पाउनेछन्।
यस्तै, सन्दीपलाई चितवन जिल्ला क्रिकेट संघले पनि नगदसहित सम्मान गरेको थियो। संघले नगद २० हजार प्रदान गरेको थियो।
गए राति सिपिएल टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सले सन्दीपलाई ५ हजार अमेरिकी डलर (५ लाख १७ हजार रुपैयाँ) मा आबद्ध गर्यो।
आइपिएलमा पाउने रकममा २० प्रतिशत कर लाग्नेछ। यद्यपि सन्दीपलाई दिल्लीले आतेजाते, खान-बस्न लगायतको सुविधा उपलब्ध गराउनेछ। यस्तै, आइपिएलमा दिनको सय डलर भत्ता हुनेछ। म्यान अफ दि म्याच तथा खेलमा राम्रो प्रदर्शन गरे थप रकम प्राप्त हुनेछ। सिपिएलमा पनि उनलाई आउने जाने र अन्य सुविधा हुनेछ।
नेपालमा पाएको पुरस्कारमा भने कर लगाइएको छैन। सरकारले चेक मार्फत तथा मदन भण्डारी स्पोट्स एकेडेमी र चितवन जिल्ला क्रिकेट संघले नगद प्रदान गरिसकेका छन्। सानिमा बैंकको सम्झौता रकम सन्दीपले मासिक रुपमा पाउँनेछन्।
एक महिनाभित्र सन्दीपसँग भएका सम्झौता रकम
आइपिएल– ३२ लाख रुपैयाँ
सानिमा बैंक– ९ लाख ६० हजार (२ वर्षका लागि)
सिपिएल– ५ लाख १७ हजार (५ हजार अमेरिकी डलर)
नेपाल सरकार– ३ लाख रुपैयाँ
मदन भण्डारी स्पोट्स फाउन्डेसन– १ लाख रुपैयाँ
चितवन जिल्ला क्रिकेट संघ – २० हजार रुपैयाँ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।