सुर्खेत- सुर्खेतमा भोलिदेखि कर्णाली प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन हुँदैछ। सुर्खेत क्रिकेट संघको आयोजनामा टि–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको हो।
संघले सहयोग जुटाएर प्रतियोगिता गर्न लागेको छ। क्रिकेटप्रति खेलाडीहरुको आकर्षण बढेपनि राज्यले पर्याप्त लगानी नगरेका कारण संघले दाता खोजेर रकम संकलन गरेर प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरेको संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए। उनले प्रतियोगिता सञ्चालनका लागि विभिन्न व्यक्तिहरुबाट आर्थिक संकलन भइरहेको जनाए। ‘हाम्रो अनुरोधपछि कतिपयले पाँच हजार त कतिपयले दस हजार रुपैयाँ पनि सहयोग गर्नुभएको छ’ अध्यक्ष केसीले भने, ‘संघसँग कुनै बजेट नै छैन तर यसैगरी सहयोग संकलन गरेर प्रतियोगिता आयोजना गरेका हौं।’
संघले प्रतियोगिता सम्पन्न गर्नका लागि चाहिने सबै खर्च भने जोहो गरिसकेको छैन । ‘अहिले पनि हाम्रा साथिहरु सहयोगको खोजीमा हिडिरहनुभएको छ’ शुक्रबार केसीले भने, ‘प्रतियोगिता सम्पन्न हुँदासम्म खर्च जुटाउनैपर्नेछ ।’ उनले प्रतियोगिता सम्पन्न गर्न ६ देखि ७ लाख रुपैयाँसम्म खर्च लाग्ने जनाए।
सुर्खेतमा क्रिकेटका लागि आवश्यक मैदान छैन। वीरेन्द्रनगरको कालिंचौकस्थित खुला चौरलाई तत्कालका लागि केही मर्मत गरेर प्रतियोगिता सञ्चालन गरिदैछ। उक्त मैदान मर्मतदेखि सहभागि ६ जिल्लाका खेलाडी, अफिसियलको खान र बस्नको व्यस्था, बाहिरबाट ल्याइएका अम्पायर, स्कोररदेखि म्याट लगायत पूर्वाधारमा पनि रकम खर्च हुने हुनाले बजेट अपुग भएको केसीले बताए । ‘हामीसँग बजेट नै छैन, तर सहयोग जुटाउने आँट गरेरै प्रतियोगिता आयोजना गरेका हौं’ उनले भने।
सरकारले केही गरेन भनेर सबै बस्ने हो भने क्रिकेटको विकास नै हुन नसक्ने भएकाले आँट गरेरै आफूहरुले प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरेको अध्यक्ष केसीको भनाइ छ। उनले सरकारी तहबाट पनि सहयोग भएमा यस्ता गतिविधि गर्न सहज हुने विस्वास व्यक्त गरे । वीरेन्द्रनगर नगरपालिकाले केही बजेट सहयोग गर्ने आश्वासन दिएपनि प्राप्त भइनसकेको उनले जनाए ।
पहिलो पटक आयोजना गर्न लागिको प्रदेशस्तरीय प्रतियोगितामा यो प्रदेशका ६ जिल्लाले सहभागिता जनाउँदैछन् । आयोजक सुर्खेतसहित, सल्यान, जाजरकोट, रुकुम पश्चिम, दैलेख र जुम्लाले सहभागिता जनाएको केसीले जानकारी दिए । कालुंगचौक मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा शनिवार विहान दस बजे सुर्खेत र सल्यानबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।