लास पलमास– स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ। बार्सिलोनालाई बिहीबार राति भएको खेलमा रेलिगेसन जोनमा रहेको टिम लास पलमासले १–१ गोलको बराबरीमा रोकेको हो।
लिओनल मेसी २१ मिनेटमा गोल गरेर बार्सिलोनालाई अग्रता दिलाएका थिए। मेसीले फ्रिकिक मार्फत सानदार गोल गरेका थिए। ४८ मिनेटमा ला पलमासले पेनाल्टीमार्फत बराबरी गोल फर्काए। बार्सिलोनाका सेर्जी रोबर्टोले मार्टिनास एगुरेगारीलाई फल गरेपछि रेफ्रीले पेनाल्टीको अवसर दिएका हुन्। प्राप्त पेनाल्टीमा लास पलमासका जोनाथन कालेरीले गोल गरे।
बराबरीसँगै बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दूरी ७ पुर्याउने अवसर गुमाएको छ। शीर्ष स्थानको बार्सिलोनाको २६ खेलबाट ६६ अंक छ। दोस्रो स्थानको एट्लेटिकोको ६१ तथा तेस्रो स्थानको रियल म्याड्रिडको ५१ अंक छ।
आइतबार बार्सिलोना र एट्लेटिको बीच प्रतिस्पर्धा हुनेछ। खेलको नतिजाले उपाधि भिडन्तमा बार्सिलोना हावी हुने हो वा एट्लेटिकोले दबाब दिने टुंगो लाग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।