म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आर्सनलमाथि सानदार जित हात पारेको छ। बिहीबार राति भएको खेलमा सिटीले आर्सनललाई ३–० गोलले पराजित गरेको हो।
सिटीले तीनै गोल पहिलो हाफमा गरेको थियो। खेलको १५ मिनेटमा बेर्नान्डो सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाए। डेभिड सिल्भाले २८ मिनेटमा अग्रता दोब्बर पारे। यस्तै लिरोए सानेले ३३ मिनेटमा सिटीका लागि तेस्रो गोल गरेपछि आर्सनल निरिह देखियो।
लिगमा १० खेल बाँकी छदा सिटी उपाधिबाट केवल ५ जित टाढा छ भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग १६ अंकको अग्रता लिएको छ। सिटीका प्रशिक्षक पेप ग्वार्डिओला पनि उपाधि नजिक भएको बताउँछन्। उनले भने, 'हामी उपाधि नजिक भएको सर्वस्विकार्य विषय हो।'
जितपछि सिटीले २८ खेलबाट ७५ अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ५९ अंक छ भने तेस्रो स्थानको लिभरपुलले ५७ अंक बटुलेको छ। ५५ अंक जोडेको टोटनह्याम चौथो तथा ५३ अंक बटुलेर चेल्सी पाँचौ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।