काठमाडौं- चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुष तथा महिलाको सेमिफाइनल समीकरण पूरा भएको छ। पुरुषतर्फको क्वाटरफाइनलमा विभागीय टिम पुलिस, एपीएफ आर्मी र हेल्प नेपाल जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा भएको क्वाटरफाइनलमा नेपाल पुलिस क्लबले ढोरपाटन स्पोटर्स क्लबलाई २५–११, २५–१७ र २५–२१ को सोझो सेटमा पराजित गर्न सफल भयो। त्यस्तै, अर्को क्वाटरफाइनलमा एपीएफ क्लबले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई २५–१९, २५–२३, १९–२५ र २५–२१ को सेटमा पराजित गर्न सफल भयो। पहिलो, दोस्रो र चौथो सेटमा एपीएफले जित हात पारे पनि तेस्रो सेट भने मणिमुकुन्दले जितेको थियो।
पुरुषतर्फ कै अर्को क्वाटरफाइनलमा हेल्प नेपालले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–१६, २५–१७, २१–२५ र २५–२२ को सेटमा पराजित गरेको छ। अर्को क्वाटरफाइनलमा आर्मीले नयाँबजार सामाजिक क्लबलाई २५–१०, २५–१६ र २५–९ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल पुगेको छ।
महिलातर्फको खेलमा एपीएफ क्लबले जावलाखेल भलिबल टे«निङ सेन्टरलाई २५–६, २५–७ र २५–४ को सोझो सेटमा पराजित गरेको छ । एपीएफ क्लब यसअघि नै सेमिफाइनल पुगि सकेको थियो।
पुरुष र महिला दुबै विधाको सेमिफाइनल खेल शुक्रबार हुदै छन् । महिलातर्फ शिवम् न्यू डायमण्डले नेपाल पुलिस क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, दोस्रो सेमिफाइनलमा एपीएफ क्लबले आर्मीको सामना गर्नेछ।
पुरुषतर्फको सेमिफाइनलमा पुलिसले हेल्प नेपालको सामना गर्नेछ भने अर्को सेमिफाइनलमा एपीएफले आर्मीसँग फाइनल प्रवेशका लागि खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।