पेरिस– फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन स्टार नेइमारको दाँया खुट्टाको शल्यक्रिया गरिएको छ। आइतबार राति फेन्च लिग वान अन्तर्गत मार्सेलीविरुद्धको खेलमा नेइमार घाइते भएका थिए।
योसँगै उनले च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड विरुद्धको खेल गुमाउने पक्का भएको छ। पिएसजीले मार्च ६ हुने रियल विरुद्धको खेलमा आफ्ना स्टार खेलाडीबिना मैदान उत्रनु पर्नेछ।
यसअघि भएको अन्तिम १६ को पहिलो लेगमा रियलले पिएसजीलाई ३–१ गोलले हराएको थियो।
आइतबार मार्सेली विरुद्धको खेलको ८० मिनेटमा डिफेन्डर बाउना सारसँग ठोक्किएपछि नेइमार घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए। उनको गोलिगाँठो समस्या देखिएको हो। नेइमार अब कम्तिमा ६ देखि ८ साता मैदान बाहिर रहने बताइएको छ।
यहि सिजन २ सय मिलियन पाउन्डमा बार्सिलोनाबाट पिएसजीमा आवद्ध भएका नेइमारले ३० खेलमा २९ गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।