कपिलवस्तु- चौथो संस्करणको लुम्बिनी शान्ति म्याराथनको उपाधि विभागीय टिम आर्मीका होमलाल श्रेष्ठले जितेका छन्।
लगातार दोस्रो पटक उपाधि उचाल्ने क्रममा होमलालले आर्मीकै हरिकुमार रिमाललाई पछि पारे। होमलालले निर्धारित दूरी २ घन्टा ५३ मिनेट १३ सेकन्डमा पूरा गरे। उपाधिसँगै होमलालले १ लाख रुपैयाँ प्राप्त गरे।
दोस्रो भएका हरिकुमार रिमालले २ घन्टा ५४ मिनेट ५३ सेकेन्डमा दौड पूरा गरे। उनले ७५ हजार रुपैयाँ हात पारे। म्याराथनतर्फ आर्मीकै खगेन्द्र भाट तेस्रो भए। म्याराथनमा विदेशी धावकसहित ३५ खेलाडीको सहभागिता थियो।
बिहीबार लुम्बिनीमा सिद्धार्थ गौतमले बुद्धको रुपमा आफ्नो जन्मभूमि फर्केर पिता राजा शुद्धोधनलाई भेटेको स्थान कुदानबाट सुरु भएको म्याराथन दौड गोटिहवा, कपिलवस्तु, बाणगंगा, तिलौराकोट, निग्लिहवा, अरोरकोट र दोहनी हुँदै मायादेवी मन्दिरमा आएर सकिएको थियो।

प्रतियोगिता अन्तर्गत २१ किलोमिटरको हाफ म्याराथनको उपाधि भारतीय सेनामा कार्यरत तीर्थ पुनले जिते। लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा तीर्थले निर्धारित दूरी १ घन्टा ७ मिनेट ३५ सेकेन्डमा पूरा गरे। उपाधिसँगै तीर्थले ५० हजार रुपैयाँ प्राप्त गरे।
दोस्रो भएका आर्मीका रामजी बस्नेतले १ घन्टा ७ मिनेट ६४ सेकेन्डको समयमा दौड पूरा गरेका थिए। उनले ३० हजार प्राप्त गरे। आर्मीकै टीकाराम कट्टेल तेस्रो भए। हाफ म्याराथनमा ५ भिक्षु ७ विदेशीसहित ४५ खेलाडीले सहभागिता जनाएका थिए।
पाँच किलोमिटर दौडको उपाधि सुनिल थापाले हात पारे। सञ्जय राई दोस्रो र सतेन्द्र यादव तेस्रो भए। उनीहरुले क्रमश १० हजार, ७ हजार र ५ हजार प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।