म्याड्रिड– स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले सानदार जित हात पारेको छ। एट्लेटिकोले बिहीबार राति भएको खेलमा लेगानेसलाई ४–० गोलले पराजित गर्यो।
एट्लेटिकोका लागि चारै गोल फ्रेन्च फरवार्ड एन्टोनी ग्रिजम्यानले गरेका थिए। उनले २६ मिनेटमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए। उनले कोकेको पासमा पहिलो गोल गरेका थिए। ३५ मिनेटमा ग्रिजम्यानले फ्रिकिक मार्फत दोस्रो गोल गरेका थिए।
५६ मिनेटमा हेडमार्फत गोल गर्दै उनले ह्याट्रिक पूरा गरे। ६७ मिनेटमा डिएगो कोस्टाको पासमा ग्रिजम्यानले चौथो गोल गरेका थिए। खेलमा ग्रिजम्यानको एक प्रहार पोलमा लागेको थियो।
एट्लेटिकोले पछिल्ला ८ खेलमा लगातार जित हात पारेको छ। आइतबार राति बार्सिलोनासँग प्रतिस्पर्धा गर्न लागेको एट्लेटिकोलाई अंक दूरी घटाउने अर्को मौका छ।
लिगमा शीर्ष स्थानको बार्सिलोनाको २५ खेलबाट ६५ अंक छ भने एक खेल बढी खेलको दोस्रो स्थानको एट्लेटिकोको ६१ र तेस्रो स्थानको रियल म्याड्रिडको ५१ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।