काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि जिम्बावेमा रहेको नेपालले बिहीबार दोस्रो अभ्यास खेलमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ।
खेल जिम्बावेको क्वेक्वे मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ।
यसअघि नेपालले पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले पराजित गरेको थियो।
पहिलो अभ्यास खेलमा राम्रो ब्याटिङ गरेकोमा नेपालका प्रशिक्षक जगत टमाटा सन्तुष्ट छन्। खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरी र शरद भेषावकारले ४१–४१ रन जोडेका थिए। 'पहिलो अभ्यास खेलमा हाम्रो ब्याटिङ युनिट राम्रो प्रदर्शन गर्न सफल भयो,' टमाटाले जिम्बावेबाट नेपाल लाइभसँग भने।
युएईसँगको अभ्यास खेल वर्षाका कारण प्रवाभित बन्दा २९ ओभरमा झारिएको थियो। बुधबार पनि वर्षा भएकाले बिहीबारको अभ्यास प्रभावित बन्ने अनुमान गरिएको छ। 'यहाँ पानी परिरहेको छ,' टमाटाले भने,'हङकङ विरुद्ध हामी आफ्नो नेचुरल खेल खेल्दै। आफ्नो कमजोरी सुधार गर्ने प्रयास गर्छौं।'
हाल नेपालले अभ्यास खेल खेलिरहेको स्थानमा पुग्न छनोट प्रतियोगिता हुने स्थानबाट बसमा २ घन्टा लाग्ने टमाटाले बताए। नेपाल पर्सि छनोट प्रतियोगिता हुने मैदानमा गएर अभ्यास गर्ने टमाटाले बताए।
छनोट प्रतियोगितामा नेपाल समूह 'बी'मा छ। समूहमा नेपाल र आयोजक जिम्बावेसँगै स्कटल्यान्ड, अफगानिस्तान र हङकङ छन्।
डिभिजन–२ मा दोस्रो हुँदै एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान बनाएको नेपालले पहिलो खेल फागुन २० गते आयोजक जिम्वाबेसँग खेल्नेछ।
नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी
वैकल्पिक खेलाडी– सुनिल धमला, विनोद भण्डारी, सिद्धान्त लोहनी र किशोर महतो।
विश्वकप छनोटमा नेपालको खेल
फागुन २० गते – जिम्बावे विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
फागुन २४ गते– स्कटल्यान्ड विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
फागुन २६ गते– अफगानिस्तान विरुद्ध – बुलावायो एथ्लेटिक क्लब
फागुन २८ गते – हङकङ विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।