भैरहवा– रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत बुधबार भएको डिभिजन ‘ए’ को समूह (ए) को खेलमा शिवशक्ति क्रिकेट क्लब भैरहवाले शंकरनगर क्रिकेट क्लब शंकरनगरलाई ३१ रनले पराजित गरेको छ
टस जितेर पहिला व्याटिङ गरेको शिवशक्ति ३० ओभर १ बलमा १ सय २७ रनमा अलआउट भयो।उसका लागि सिद्धान्त अधिकारीले ३८, मनोज सुनारले ३२ र सुमन अधिकारीले १४ रन बनाए। बलिङमा शंकरनगरका अनिल खरेलले ५, धिरज शाहीले ४ र केयरसिंह भण्डारीले १ विकेट लिए।
१ सय २८ रनको लक्ष्यसहित मैदान उत्रेको शंकरनगर २६ ओभर ३ बलमा ९४ रनमा अलआउट भयो। उसका लागि प्रकाश केसीले ३९ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न नसक्दा टिमले झिनो लक्ष्य पनि भेट्टाउन सकेन र हार व्यहोर्यो। बलिङमा खेलका म्यान अफ द म्याच समेत रहेका शिवशक्तिका कृष्ण कार्कीले ४ विकेट लिए । यस्तै अमरसिंह रौतेलले ३ र हरजित सिंहले १ विकेट लिए।
बिहीबार समूह (सि) मा रहेका होराइजन क्रिकेट क्लब बुटवल र प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।