काठमाडौं- ‘मेरो छोरा कसरी बसेको होला? खाएको छ कि छैन होला?’ म्याग्दी जिल्ला दरबाङकी हरिमाया निउरे नियतीसँग प्रश्न गर्छिन्।
‘मेरो छोरालाई फर्काइदिनुस्, नत्र उनीहरूले मार्छन्, उसलाई बचाइदिनुस्,’ बाेल्दै गर्दा उनका कलेटी परेका ओठ काँपेको देख्न सकिन्थ्यो। आँखा भरिएर र तप्प तप्प आँशु खस्न थाल्छन्। विगत ३ वर्षदेखि हरिमायाको आश यसै गरी आँसु बनेर झरिरहेको छ।
‘छोरा खुसी बोकेर फर्किन्छ भन्ने कत्रो आश थियो...,’ हरिमायाको गला अवरुद्ध भयो।
परिवारमा खुसी लिएर फर्कने बाचा गर्दै हिँडेका हरिमायाका जेठा छोरा राजकुमार निउरे साउदीमा जेलमा पुगेको खबर परिवारमा आएपछि पुरै परिवारको आँशु थामिएको छैन।
जेलबाट कहिलेकाँही राजकुमारले फोन गर्छन्।
फोनमा राजकुमारसँगको संवादपछि त झन् झन् नियतिसँगै डर लाग्छ।
'‘मेरो कुनै गल्ती छैन, म निर्दोष छु, बिना गल्ती म फसेँ, मलाई बचाउनुस्’ भनेर छोरा रुन्छ’ हरिमाया भन्छिन्, ‘हामी गरिबसँग केही छैन, मेरो छोरालाई कसरी बचाउने?’
‘मेरो भाइ निर्दोष छ, तर पनि झन्डै ६ वर्ष हुन लागिसक्यो ऊ जेलमा छ, त्यहाँ उसले ट्वाइलेटको पानी खानु परेको छ रे,’ राजकुमारकी दिदी पुनम केसीले थप कुरा पनि भन्न चाहे जस्तो बुझ्न सकिन्थ्यो। तर उनले पनि थप बोल्न सकिनन्।
000
राजकुमार जेल परेको ३ वर्षपछि मात्रै परिवारमा खबर आएको थियो।
‘३ वर्षपछि मात्रै भाइ जेल परेको खबर आयो, बुबालाई केही थाहा हुँदैन, आमालाई सुनाउँ भने आमा प्रेसरको रोगी, सबै पीडा एक्लैले सहेँ, सम्झिएर एक्लै रोएँ, भौंतारिएर कहाँ कहाँ पुगेँ,’ पुनम सुनाउँछिन्।
उनी राजकुमारलाई जेलबाट मुक्त गराउन परराष्ट्र र श्रम मन्त्रालयसम्म चहारिन्। वैदेशिक रोजगार बोर्ड पुगिन्। राजकुमारले श्रम स्वीकृति लिएर गएको गल्फ म्यानपावरसम्म पनि धाइन्।
२०६८ साल जेठ २९ गते गल्फ म्यानपावरमार्फत लेबर कामका लागि श्रम स्वीकृति लिएर गएका राजकुमारलाई कम्पनीबाट भागेर अवैध रुपमा काम गरिरहेको अवस्थामा हत्याको आरोप लाग्यो।

त्यसपछि झनै म्यानपावरलाई पन्छिने बाटो मिल्यो। राजकुमार आफूले पठाएको कम्पनीबाट भागेर अन्यत्र गएकाले अब यस विषयमा आफ्नो कुनै पनि दायित्व म्यानपावरको नरहने प्रतिक्रिया म्यानपावरले दियो।
पराराष्ट्र मन्त्रालय,श्रम मन्त्रालय र वैदेशिक रोजगार बोर्डबाट पनि राजकुमारलाई जेलबाट उद्धारका लागि तत्काल कुनै सहयोग हुने देखिएन।
आमालाई थाहा नदिई भाइलाई जेलबाट निकाल्ने हिम्मत लिएकी दिदी पुनमले अन्तिममा यो कुरा आमालाई सुनाउन बाध्य भइन्।
छोराको खबरले आमा हरिमाया बेहोस भएर ढलिन्। उनमा एकातिर उच्च रक्तचापको समस्या बढ्यो। अर्कातिर तनाव।
त्यसबेला उनलाई उपचारका लागि अस्पताल नै भर्ना गर्नु परेको थियो।
000
‘थोरै समय कुरा हुन्थ्यो, काम गाह्रो छ, के गर्नु आमा तर ऋण गरेर आएको छु। ऋण तिर्न पुग्ने पैसा कमाएर भएपनि फर्कन्छु भन्थ्यो,’ हरिमाया सम्झिन्छिन्।
त्यो बेला पनि आमाछोराबीच फोन संवाद नभएको लामो समय भएको थियो। आमालाई छोराले काम गरिरहेको होला भन्ने लाग्थ्यो।
‘छोरा काम गरिरहेको होला, काममा व्यस्त भएर फोन गरेन होला भन्ने सोचिरहेकी थिएँ,’ हरिमाया भन्छिन्। राजकुमार झन्डै ६ वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका छन्।
'उनी कसरी जेल परे त?'
‘साथीलाई बचाउन खोज्दा’ यो विषय गम्भीर छ।
000
राजकुमारका अनुसार उनी कामबाट कोठा तर्फ फर्कँदै थिए। सोही समयमा बाटोमा दुई जना मानिस झगडा गरिरहेको दृश्य देखे।
उनी त्यतै तर्फ नजिकिए। सोही क्रममा एक जना रगताम्य भएर ढले। नजिकै गएर हेर्दा ती व्यक्ति नेपाली नै रहेछन्। मोरङ जिल्ला लेटाङ-३ का कमल वस्ती।
एउटा नेपाली साउदीको ठाउँमा रगताम्य भएर छटपटाइरहेको देख्दा राजकुमारलाई अझै बढी दया लाग्यो। अस्पताल पुर्याएको दुई दिनपछि कमल वस्तीको निधन भयो।
त्यसपछि दया गरेर अस्पताल पुर्याउने राजकुमारलाई नै हत्याको आरोप लगाइयो। साउदीस्थित नेपाली दूतावासका अनुसार कमलको शवको पोष्टमार्टम रिपोर्टमा राजकुमारको औँठाछाप देखियो।
राजकुमारले आफूले कमललाई ढलिरहेको स्थानबाट उठाएर उपचार गर्नका लागि लगेको बयान दिए। तर परदेशमा राजकुमारको कुरा कसैले सुनिदिएन।
उनलाई जर्बजस्ती हत्याको ट्याग भिराइयो। साउदीको कानुनले राजकुमारलाई ५ वर्ष कैद र ३० लाख जरिवानाको फैसला सुनायो।
उनको ५ वर्षको कैद अवधि सकियो। तर जेलबाट छुट्न आवश्यक रकम (ब्लडमनी) नहुँदा राजकुमार जेलमै बस्न बाध्य छन्।
साउदीको नियम अनुसार कसैले कसैको हत्या गरेमा उसलाई मृत्युदण्डसम्मको सजाए हुन्छ।
यदि मृतकका परिवारले आफ्नो परिवारको सदस्य मारिए बापतको रकम (ब्लडमनी) माग गरी छुट दिए पछि मात्रै मृत्युदण्डबाट छुट भई आरोपित व्यक्ति जेलमुक्त हुन सक्ने अवस्था रहन्छ।
‘भाइलाई जेलबाट निकाल्न मृतकका परिवारले सुरुमा ६० लाख रकम माग गरेका थिए। २ महिना अघिदेखि २० लाख माग गरेका छन्। हामीले त्यति धेरै रकम कसरी जुटाउने, भाई विदेश जाँदा लिएको ऋण पनि बढ्दै गएको छ, मलाई मात्रै ५ लाखभन्दा बढी ऋणले थिचिसक्यो,’ पुनमले वेदना पोखिन्।

‘बुहारी पनि आफ्नै सुरकी छन्, छोरा सानै छँदा छाडेर माइत गएर बसेकी छन्, भाइको छोरा पनि म आफैँले सम्हालीरहेकी छु,’ दिदी पुनम भन्छिन्, ‘आफैँ ऋणले थिचिए पनि भाइलाई जेलबाट छुटाउन खटिएकी छु तर सहयोग कतैबाट नमिल्दा दिनरात रोएर बाँच्नुको विकल्प भेटिएकै छैन।’
नेपाल लाइभले मृतक कमलका परिवारसँग फोन सम्पर्क गर्न खोज्दा उनीहरु सम्पर्कमा आउन सकेका छैनन्।
कमलका आफन्त केशव वस्तीलाई फोन सम्पर्क गर्दा पनि उनले कुनै प्रतिक्रिया दिन चाहेका छैनन्।
६ महिनाको बच्चा काखमा च्यापेर पुनम भाइलाई बचाउन काठमाडौं धाइरहेकी छन्।
‘सामान्य परिवार। बुबा पनि सुस्त मनस्थितिको हुनुहुन्छ। घरमा भाइ कतार जाँदादेखि लागेको ऋण बढ्दै गइरहेको छ, त्यत्रो रकम कसरी जुटाउने भन्ने चिन्ता छ’ पुनम भन्छिन्।
सामान्य परिवारमा जन्मिएका राजकुमारको परिवारलाई बिहान बेलुका छाक टार्न धौधौ भएको थियो। केही समय घरकै काम गरे। तर खान र परिवार पाल्न समेत मुस्किल भएपछि उनी श्रीमती र ३ वर्षको छोरा छाडेर विदेशिएका थिए।
राजकुमारकी दिदी पुनम र भिनाजु तमबहादुर केसी ३ वर्षदेखि राजकुमारलाई जेलबाट छुटाउन सहयोगको अपिल गरिरहेका छन्। तर आवश्यक रकम जुटाउन नसकेपछि उनीहरुले सहयोगको अपिल गरेका छन्।
जताततै सहयोगको हात फैलाउँदा पनि १ बल्लबल्ल १ लाख ४० हजार जति मात्रै जम्मा भएको छ।
राजकुमारको परिवारले राजकुमारलाई जेलमुक्त गराउनका लागि सहयोगी मनहरुसँग सहयोगको अपिल गरेको छ।
000
(सहयोग गर्न चाहनेले ९८४९९९२१७० मा (योगेन्द्र न्यौपाने)लाई सम्पर्क गर्न सकिने छ। साथै आमा हरिमाया निउरेका नाममा रहेको सिद्धार्थ बैंक गोंगबु शाखाको खाता नम्बर ०१६१५५१८५६७ मा रकम जम्मा गरी सहयोग गर्न सकिने छ।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।