काठमाडौं- गोल्डेनगेट इन्टरनेसनल कलेजले क्यारेबियन कप अन्तरकलेज टि– ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि बुधबार जितेको छ।
पुल्चोक इन्जिनिएरिङ कलेजको मैदानमा भएको फाइनलमा गोल्डेनगेटले पाटन बहुमुखी क्याम्पसलाई ६ विकेटले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको पाटनले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा १०७ रनको योगफल खडा गरेको थियो। पाटनका सुवास धामीले ३४ तथा राजन चौधरीले ३२ रन जोडे । बलिङतर्फ गोल्डेनगेटका दिनेश अधिकारीले २ विकेट लिए।
जवाफमा गोल्डेनगेटले १२ ओभर २ बलमा ४ विकेट गुमाएर १०८ रन जोड्दै उपाधि हात पार्य । गोल्डेनगेटको जितमा ‘म्यान अफ द म्याच’ जितेन्द्रसिंह ठकुरीले ५६ रन योगदान दिए। रवि शाहले १९ रन बनाए । पाटनका युवराज जोशीले २ विकेट हात पारे। उपाधिसंग गोल्डेनगेटले १ लाख नगद पुरस्कार पायो भने पाटनले ५० हजार नगदमा चित्त बुझायो।
क्यारेबियन कलेज अफ म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगितामा समावेश तीनै विधागत उपाधि गोल्डेनगेटका जितेन्द्रले हात पारे । जितेन्द्र ‘म्यान अफ द सिरिज’, उत्कृष्ट बलर तथा सर्वाधिक स्कोरकर्ता बने । उनले ब्याटिङतर्फ प्रतियोगिताभर २ सय ४१ रन बनाए । त्यसमा एक शतक पनि सामेल छ । बलिङमा उनले जम्मा ७ विकेट लिए । जितेन्द्रले ‘म्यान अफ द सिरिज’ का लागि १० हजार नगद पुरस्कार पाए भने बाँकी दुईका लागि समान ५–५ हजार नगद पुरस्कार प्राप्त गरे।
विजेतालाई ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल, हिसानका अध्यक्ष एवं गोल्डेनगेटका प्रमुख कार्यकारी अधिकृत रमेश सिलवाल, क्यारेबियनका प्रमुख कार्यकारी अधिकृत डा. गणेशकुमार श्रेष्ठ र क्यारेबियनका प्रिन्सिपल चन्द्रायन श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन ९ गतेदेखि सुरु नकआउट प्रतियोगितामा १६ टिम सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।