म्याड्रिड– स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई आराम दिइएको खेलमा रियल म्याड्रिड पराजित भएको छ। स्पेनिस ला लिगा अन्तर्गत रियललाई स्पान्योलले १–० गोलले पराजित गरेको हो।
रियललाई स्तब्ध पार्ने क्रममा स्पान्योलका जेरार्ड मोरेनोले दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेका थिए। सर्जियो गार्सियाले उपलब्ध गराएको क्रसमा उनले गोल गरेका थिए।
खेलमा रियलले रोनाल्डोलाई आराम दिँदा डिफेन्डर सर्जियो रामोस लगातार अग्रपंक्तिमा देखिएका थिए।
पछिल्ला पाँच खेलमा लगातार जित निकालेको रियलले पराजय भोगेसँगै उपाधि रक्षा अभियान कठिन बनेको छ। अंक तालिकाको तेस्रो स्थानमा रहेको रियलले २६ खेलबाट ५१ अंक जोडेको छ। रियल शीर्ष स्थानको बार्सिलोना भन्दा अझै १४ अंकले पछि छ। एक खेल कम खेलेको बार्सिलोनाको ६५ तथा दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ५८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।