पोखरा– सत्यवती उच्चमावि दमौलीले तेस्रो एक्सपर्ट कलेज प्रिमियर क्रिकेट लिगको उपाधि रक्षा गरेको छ।
मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको उपाधि भिडन्तमा सत्यवतीले कुमुदिनी होम्सलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
कुमुदिनी होम्सले दिएको ९९ रनको लक्ष्य सत्यवतीले १६ ओभरमा ७ विकेटको नोक्सानीमा पार गर्यो। खराब सुरुवात गरेको सत्यवतीको जितमा मध्यक्रमका व्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गरेका थिए।
टस जितेर व्याटिङ गरेको कुुमदिनीले १८ ओभर २ बलमा ९८ रनमा अलआउट भयो। कुमुदिनीका लागि २ ब्याट्सम्यानले मात्रै दोहोरो रनको योगफल तयार पारे। अनिष खड्काले ३२ रन र सम्राट पराजुलीले १० रनको योगदान गरे । सत्यवतीका लागि सौरभ अलीले तीन ओभर २ बलमा ३ विकेट लिए। सुशिल गिरीले ३ विकेट, सन्तोष श्रेष्ठले २ र विनय भण्डारीले १ विकेट लिए।
९९ रनको झिनो स्कोरको लक्ष्य पछ्याएको सत्यवतीका विपुल काफ्लेले २६, कप्तान विनय भण्डारीले १५, विमल सुनारले १५ र रुपक बरालले १४ रनको योगदान दिए। कुमुदिनीका समीर सेनले २ विकेट लिए भने देव साहले ३ र विश्वास पराजुलीले पनि २ विकेट लिए।
प्रतियोगितामा ८ कलेजको सहभागिता रहेको थियो । प्रतियोगिताको म्यान अफ दि सिरिजबाट सत्यवतीका कप्तान विनय भण्डारी घोषित भए। सत्यवतीकै शुशिल गिरी वेष्ट बलर, रुपक बराल वेष्ट व्याट्सम्यान र कुमुदिनी होम्सका अनिष खड्का वेष्ट फिल्डर घोषित भए।
विपुल वाग्ले फाइनलको म्यान अफ दि म्याच घोषित भए। प्रतियोगिताका विजेता टोली पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल लगायतले ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।