काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको अभ्यास युएईले नेपाललाई १ सय ७२ रनको लक्ष्य दिएको छ।
मंगलबार जिम्बावेको क्वेक्वे मैदान ओसिलो भएका कारण २९ ओभरमा घटाइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएई २८.५ ओभरमा १ सय ७१ रनमा अलआउट भयो।
युएईका ओपनिङ ब्याट्सम्यान अस्फक अहमेदले ४२ रन जोडे। ललित राजवंशीको बलमा आरिफ शेखबाट क्याच हुनुअघि उनले ५१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। त्यसअघि ओपनर तथा कप्तान रोहन मुस्ताफालाई ४ रनको झिनो स्कोरमा ललित भण्डारीले आउट गरे।
यस्तै गुलाम सब्बेरले ३२ रनको योगदान दिए। उनलाई कप्तान पारस खड्काले बोल्ड गरेका थिए। रमिज शाहजादलाई राजवंशीले शून्य रनमा आउट गर्दा शैनमान अनवारले १६ रन जोडे। अनवारलाई भण्डारीले करण केसीबाट क्याच गराएका थिए। मोहमद उस्मानलाई पनि भण्डारीले २६ रन बनाएर खेलिरहदा आउट गरे। लगत्तै उनले मोहमद बोतालाई १ रनमा आउट गरे।
करण केसीले अन्तिम ओभरमा अडनान मुफ्तीलाई ३७ रन र मोहमद नाभीदलाई १ रनमा आउट गरेका थिए। एक बल बाँकी छदा चिराग सुरीलाई पनि उनले सिकार बनाए।
बलिङतर्फ नेपालका ललित भण्डारीले ४ विकेट लिन सफल भए। करण केसीले ३ विकेट हात पारे। उनले ३ वटै विकेट अन्तिम ओभरमा लिएका थिए। ललित राजवंशी २ विकेट लिए। कप्तान पारस खड्काले १-१ विकेट हात पारे।
दोस्रो अभ्यास खेलमा नेपालले बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।
छनोट प्रतियोगितामा नेपाल समूह 'बी'मा छ। समूहमा नेपाल र आयोजक जिम्बावेसँगै स्कटल्यान्ड, अफगानिस्तान र हङकङ छन्।
डिभिजन–२ मा दोस्रो हुँदै एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान बनाएको नेपालले पहिलो खेल फागुन २० गते आयोजक जिम्वाबेसँग खेल्नेछ।
नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी
वैकल्पिक खेलाडी– सुनिल धमला, विनोद भण्डारी, सिद्धान्त लोहनी र किशोर महतो।
विश्वकप छनोटमा नेपालको खेल
फागुन २० गते – जिम्बावे विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
फागुन २४ गते– स्कटल्यान्ड विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
फागुन २६ गते– अफगानिस्तान विरुद्ध – बुलावायो एथ्लेटिक क्लब
फागुन २८ गते – हङकङ विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।