काठमाडौं– चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगितामा न्युडायमण्ड र आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन्।
मंगलबार भएको महिलातर्फको लिग खेलमा डायमण्ड र आर्मीले समान ३–० को सोझो सेटमा नतिजा आफ्नो पक्षमा पारे। पहिलो खेलमा डायमण्डले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–६,२५–१६ र २५–१५ को सेटमा हराउँदा दोश्रो खेलमा आर्मीले पद्मदय युथ क्लब चितवनलाई २५–१०,२५–७ र २५–१३ को सेटमा स्तब्ध बनायो। समूह ए बाट दुवैले दुई–दुई खेलमा सफलता हात पादै समान ६ अंक जोडेका छन्। यी दुवै बीच बुधवार हुने लिगको अन्तिममा खेलमा सफलता हात पर्ने टिम समूह विजेताको रुपमा र पराजित टिम समूह उपविजेताको रुपमा सेमिफाईनलमा प्रवेश गर्ने निश्चित भएको छ। महिलातर्फनै समूह बी बाट एपिएफ पनि ६ अंकका साथ समूह विजेताको रुपमा सेमिफाईनल प्रवेश गरको छ।




पुरुषतर्फको खेलबाट सफलता हात पादै हेल्प नेपाल स्पोर्ट्स क्लब,पुलिस,एपीएफ र आर्मीले समुह बिजेताको रुपमा क्वाटर फाईनलमा स्थान बनाएका छन्। मंगलवारको खेलमा हेल्प नेपालले पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघलाई २५–१२, २५–२३ र २५–१४ को सोझो सेटमा हरायो । त्यस्तै पुलिसले काभ्रे जिल्ला भलिबल संघलाई २५–१४, २५–१४ र २५–९ को सेटमा हराउदा एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१५, २५–१२ र २५–१४ को सोझो सेटमा पराजित गर्न सफल भयो ।
नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा महिलातर्फ ७ टोलीले सहभागिता जनाएको छ। पुरुषतर्फ ११ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको महिला तथा पुरुष विजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख तथा तेस्रो हुनेले ६० हजार पुरस्कार पाउनेछन्।
प्रतियोगितामा दुवै विधातर्फ सर्वोत्कृष्ट हुने खेलाडीले समान १५–१५ हजार पाउनेछन्। यस्तै उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सर्भर र प्रशिक्षकले समान ५–५ हजार पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।