डडेल्धुरा– चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनमा बसेका चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीका समर्थकले सरकारी सवारी साधन सञ्चालनमा रोक लगाएका छन्। दैनिकजसो डा.केसीको समर्थनमा प्रर्दशनमा उत्रिएका समर्थकले आन्दोलनकै कार्यक्रममा मंगलबार बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाएका हुन्।
१७ औं चरणको अनशनमा रहेका केसीको अनशन डडेल्धुरामा आज ९ औँ पनि जारी छ। उनका समर्थकले दिउँसो डडेल्धुराको उग्रतारा मन्दिरमा लाग्ने मेलामा आन्दोलनको समर्थनमा हस्ताक्षर संकलन सुरु गर्ने डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले जानकारी दिए।
यसैबीच डा.केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको डा. तोसीमा कार्कीले जानकारी दिएकी छन्। डा.केसीले सरकारले वार्ता टोली गठन गरी डडेल्धुरा नै पठाउन सक्ने भएकाले आफू अन्य अस्पतालमा नजाने अडान लिइरहेका डा.कार्कीले जानकारी दिइन्।
डा.केसी भनाइ उदृत गर्दै डा.कार्कीले भनिन् ‘मेरो उपचार गर्ने हो भने सरकारले डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसारका डाक्टर पठानु पर्छ। रातारात रुख रोप्न सक्ने सरकारले डडेल्धुरा अस्पतालमा आईसियूलगायतका आवश्यक उपकरण जडान गरोस्।’ डा. केसी ७ बुँदे माग राख्दै ९ दिनदेखि अनशनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।