काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्न नेपाली टिम जिम्बावे पुगेको छ। नेपाली टिम पनि आइतबार साँझ जिम्बावे पुगेको हो।
फागुन २० देखि सुरु हुने प्रतियोगितामा आयोजक जिम्बावेसहित १० टिमले प्रतिस्पर्धा गर्दैछन्। जिम्बावेका राष्ट्रपति इमेर्सन मानागावाले आइतबार साँझ सबै टिमका लागि स्वागत कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रममा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको थियो।

पहिलो अभ्यास खेलमा नेपालले मंगलबार युएईसँग अभ्यास खेल खेल्दैछ। यस्तै दोस्रो अभ्यास खेलमा नेपालले बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।
छनोट प्रतियोगितामा नेपाल समूह 'बी'मा छ। समूहमा नेपाल र आयोजक जिम्बावेसँगै स्कटल्यान्ड, अफगानिस्तान र हङकङ छन्।
डिभिजन–२ मा दोस्रो हुँदै एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान बनाएको नेपालले पहिलो खेल आयोजक जिम्वाबेसँग खेल्नेछ।
नेपालले पहिलो खेल खेलेको ४ दिनपछि स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि २–२ दिनको अन्तरमा नेपालले अफगानिस्तान र हङकङसँग भिड्नेछ।
समूह 'ए'मा आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, वेस्ट इन्डिज र युएई छन्। दुवै समूहका शीर्ष ३–३ टिम सुपर–६ मा पुग्नेछन्। सुपर सिक्समा लिग खेल हुनेछन्। शीर्ष २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन्।
एकदिवसीय वरियताका शीर्ष ८ टिम विश्वकपमा स्वत: छनोट भइसकेका छन्। छनोट प्रतियोगिताबाट २ र स्वत: छनोट भएका ८ गरी १० टिमबीच आगामी वर्ष विश्वकपमा प्रतिस्पर्धा हुनेछ।
विश्वकप छनोट प्रतियोगितापछि ४ एसोसिएट टिमलाई एकदिवसीय मान्यता प्रदान गरिनेछ। विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको नेदरल्यान्ड्सले एकदिववसीय मान्यता पाइसकेको छ। अब पपुवा न्युगिनी, स्कटल्यान्ड, हङकङ, नेपाल र यूएई मध्ये शीर्ष ३ टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन्। नेपालले एकदिवसीय मान्यता पाउन छनोटमा कम्तिमा आठौं स्थान हात पार्नु पर्नेछ। जसका लागि छनोटमा प्लेअफ हुनेछ।
नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी
वैकल्पिक खेलाडी– सुनिल धमला, विनोद भण्डारी, सिद्धान्त लोहनी र किशोर महतो।
विश्वकप छनोटमा नेपालको खेल
फागुन २० गते – जिम्बावे विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
फागुन २४ गते– स्कटल्यान्ड विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
फागुन २६ गते– अफगानिस्तान विरुद्ध – बुलावायो एथ्लेटिक क्लब
फागुन २८ गते – हङकङ विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।