काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चैत १४ हुने निर्वाचन प्रक्रिया निर्देशिका विपरित चलिरहेको अध्यक्षका प्रत्यासी कर्माछिरिङ शेर्पाले आरोप लगाएका छन्। आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संस्थापन पक्षले निर्देशिका विपरित काम गरेको शेर्पाले दाबी गरेका हुन्।
'निर्वाचन समितिलाई अहिलेसम्म पूर्णता दिइएको छैन। अपिल कमिटी गठन भएको महिनौं बित्दा पनि सदस्यहरुलाई पत्र दिइएको छैन। विधि-विधान मिच्ने काम भइरहेको छ,' शेर्पाले भने।
उनले निर्वाचनका लागि अहिलेसम्म आचारसंहित लागु नगरिएकोमा पनि आपत्ति जनाए। 'निर्वाचनका लागि आचारसंहिता लागु गरिएको छैन। संस्थापन पक्षले जिल्ला र क्लबलाई प्रभावमा पर्न बजेट उपलब्ध गराउने आश्वासन दिरहेको छ,' शेर्पाको भनाइ छ।
उनले निर्वाचनलाई प्रभाव पार्न पर्दा पछाडि खेल भइरहेको पनि दाबी गरे। 'हामीलाई निर्वाचन हुन्छ कि हुँदै भन्नेमा पनि शंका छ। किनकी आफ्नो पक्षमा निर्वाचन नआउने भएपछि यसअघि पनि चारपटक निर्वाचन सरिसकेको छ। निर्वाचन हुन एक महिना बाँकि रहदा फिफा र एएफसीमा प्रतिनिधिका लागि पत्राचार गरिएको छैन,' शेर्पाले दाबी गरे, 'अहिले पनि पर्दा पछाडि अनेक षड्यन्त्र भइरहेका छन्। फिफाबाट प्रतिबन्धित गणेश थापा सक्रिय बनिरहेका छन्।'
शेर्पाले विधिसम्मत निर्वाचन भए आफ्नो जित सुनिश्चित भएको पनि दाबी गरे। उनले परिवर्तनका लागि आफ्नो समूह निर्वाचनमा प्रतिस्पर्धा उत्रिएको बताए। 'पारदर्शिता, सामूहिक नेतृत्व र व्यवसायिकता हाम्रो प्रतिवद्धता हो,' शेर्पाको प्रतिवद्धता छ,'हामीले जिते तीन महिना भित्र परिवर्तनको आभास दिन्छौं।'
आगामी महिना हुने निर्वाचनमा एन्फाका पूर्वउपाध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष शेर्पा र एन्फाका वरिष्ठ उपाध्यक्ष मणी कुँवरको समूहबीच प्रतिस्पर्धा हुँदैछ। दुवै पक्षका उम्मेदवारले यसअघि नै उम्मेदवारी दर्ता गराइसकेका छन्।
कुँवरलाई एन्फाका वर्तमान अध्यक्ष नरेन्द्रलाल श्रेष्ठको समर्थन छ। साथै उनलाई पूर्वअध्यक्ष गणेश थापाको पनि समर्थन रहेको छ। फिफाबाट प्रतिबन्धका कारण प्रत्यक्ष रुपमा समर्थन जुटाउन नमिले पनि थापाले अप्रत्यक्ष रुपमा कुँवरका पक्षमा लबिङ गरिरहेका छन्।
शेर्पालाई भने एन्फाका पूर्व सिइओ तथा संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर र राष्ट्रिय टिमका पूर्वप्रशिक्षक कृष्ण थापाले समर्थन गरेका छन्। तुलाधर र थापाले अध्यक्षमा आफ्नो दाबी फिर्ता लिएर शेर्पालाई समर्थन गरेका हुन्।
शेर्पालाई एन्फाका उपाध्यक्षहरु किशोर राई, विजयनारायण मानन्धर र वीरबहादुर खड्काले पनि साथ छ। यस्तै, अघिल्लो निर्वाचनमा अध्यक्षका आकांक्षी टासी घले र विज्ञानराज शर्माले पनि शेर्पालाई समर्थन गरेको जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।