विपद् व्यवस्थापनमा अमेरिकाले थप सहयोग गर्ने

नेपाल लाइभ | २०७६ कार्तिक २१ बिहीबार | Thursday, November 07, 2019 १६:१९:०० मा प्रकाशित

काठमाडौं– विपद व्यवस्थापनमा नेलाललाई अमेरिकाले थप सहयोग गर्ने भएको छ। 

नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग (युएसएआईडी)का एसिया ब्युरो, सहायक प्रशासक ग्लोरिया डी. स्टीलेले गृहमन्त्री रामबहादुर थापा (बादल)सँग भेटवार्ता गर्दै सो कुरा बताएकी हुन्। 

गृह मन्त्रालयमा भएको भेटमा नेपालको बिभिन्न क्षेत्रमा युएसआईडीले गर्दै आएको सहयोग तथा आगामी दिनमा आवश्यक सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो।

भेटमा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा भूकम्पपछिको पुनर्निर्माण लगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहयोगका लागि आग्रह गरेका थिए।

गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठनको प्रक्रिया सुरु गरी प्राधिकरणका लागि प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरिसकेको जानकारी दिँदै गृहमन्त्री थापाले युएसएआइडीबाट प्राधिकरणका लागि आवश्यक सहयोग पाउने आशा व्यक्त गरेका थिए। 

भेटवार्तामा सहायक प्रशासक ग्लोरियाले नेपाल–अमेरिका सम्बन्धको चर्चा गर्दै नेपाललाई युएसआइडीले सहयोगको प्राथमिकतामा राखेको जानकारी दिइन्। 

उनले नेपाललाई दिँइदै आएको सहयोग निरन्तर रहने तथा नेपालको अपेक्षा अनुसार थप सहयोग बिस्तार गर्न आफूहरु तयार रहेको बताएकी थिइन्। 

सहायक प्रशासक ग्लोरियाले विपद् व्यवस्थापन प्राधिकरण गठन अन्तिम चरणमा पुगेको जानकारी पाउँदा आफूलाई खुशी लागेको जानकारी दिँदै प्राधिकरणलाई आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको बताइन्। 

भेटवार्तामा नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरी पनि सहभागी थिए।