दाङ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कालापानी लिपुलेक नेपालको अभिन्न अङ्ग र अभिभाज्य भूमी भएको भन्दै भारतले जारी गरेको नक्सा अस्वीकार्य भएको बताएका छन्।
आज दाङको तुल्सीपुरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै थापाले सरकारले तुरुन्तै कूटनितिक पहल गरी समस्याको हल खोज्न सरकारलाई सुझाव पनि दिए।
नेपालको भूमी कब्जा गर्ने कार्य आपत्तिजनक भएको भन्दै उनले विदेशीको हस्तक्षेपमा सरकार मौन बस्न नमिल्ने भन्दै लाचारिपन र आत्मसमर्पणवादी मानसिकताले मुलुकको स्वाधिनताको रक्षा हुन नसक्ने ठोकुवा गरे।
राष्ट्रियताको मुद्दा बोकेर दुई तिहाई बहुमत प्राप्त गर्ने सरकार विदेशी हस्तक्षेपसामु निरिह, लाचार र कमजोर हुनु दुर्भाग्यपूर्ण भएको भन्दै स्वाधिनताको रक्षाका खातिर कसैसँग सम्झौता हुन नसक्ने विचार व्यक्त गरे।
फरक प्रसंगमा थापाले विप्लव माओवादीलाई सरकारले वार्तामा बोलाएर समस्या समाधान गर्नुपर्नेमा जोड दिए। अब मुलुकले हत्याहिंसाको चक्र सहन नसक्ने भन्दै नेकपाले यो पक्षलाई गम्भीरतापूर्वक मनन गर्न आवश्यक भएको विचार व्यक्त गरे।
धर्म, संस्कृति मासेर कुनै पनि मुलुकले प्रगति गर्न नसक्ने भन्दै थापाले धर्म परिवर्तनको डढेलोले धार्मिक द्वन्द्वतर्फ मुलुक जान सक्ने भन्दै चिन्ता व्यक्त गरे।
कांग्रेस कम्युनिस्टको असफलतालाई 'सवक' सिकाउनको निमित्त आगामी उपनिर्वाचनमा राप्रपालाई सघाउन थापाले जनतासमक्ष आग्रह गरे। कार्यक्रममा पार्टीका उपाध्यक्ष प्रेमबहादुर भण्डारी, महामन्त्री डा धवलशमसेर राणा, प्रदेश ५ का अध्यक्ष प्रदीप उदय, मीना स्वर्णकार र प्रदेश उम्मेदवार भुपाल रावतले बोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।