शरद भेषावकरले बनाए प्रथम श्रेणीमा सर्वाधिक रनको कीर्तिमान

नेपाल लाइभ | २०७६ कार्तिक २१ बिहीबार | Thursday, November 07, 2019 ११:२४:०० मा प्रकाशित

काठमाडौं- शरद भेषावकरले प्रथम श्रेणी क्रिकेटमा नेपालका लागि सर्वाधिक रनको कीर्तिमान बनाएका छन्। इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँगको खेलमा ४ रनमा नै आउट भए पनि शरद अहिलेसम्म प्रथम श्रेणीमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।

कप्तान ज्ञानेन्द्र मल्ल डकआउट भएपछि ब्याटिङमा आएका शरदले यसअघि नेपालका लागि प्रथम श्रेणीमा सर्वाधिक रन बनाउने शक्ति गौचनको कीर्तिमान तोडेका हुन्।

यसअघि नेपालले २००४ र २००५ मा खेलेका चार प्रथम श्रेणी खेलमा शरद टोलीमा थिए। जसमा ६ इनिङमा शरदले ३४ को एभरेजमा १ सय ७० रन बनाएका थिए। शक्ति गौचनले शरदभन्दा १ रन बढी बनाएर नेपालका लागि प्रथम श्रेणीमा सर्वाधिक १ सय ७१ रनको कीर्तिमान राखेका थिए। आज ४ रन जोडेसँगै शरदको रन १ सय ७४ पुगेको छ।

यसअघि नेपालले सन् २००५ मा युएईविरुद्ध प्रथम श्रेणी क्रिकेटमा प्रतिस्पर्धा गरेको थियो। त्यसबेला टोलीमा रहेका शरद भेषावकर मात्रै अहिले कीर्तिपुर मैदानमा एमसिसीसँग खेलिरहेको टोलीमा समावेश छन्। 

शरदबाहेक १० जना खेलाडीको एमसिसीविरुद्ध चलिरहेको खेल नै राष्ट्रिय टिमबाट प्रथम श्रेणीमा डेब्यू खेल हो।

शरदसँगै टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, आरिफ शेख, पवन सर्राफ, बिनोद भण्डारी, करण केसी, ललित राजबंशी, राजु रिजाल, सोमपाल कामी र सन्दीप लामिछाने रहेका छन्। 

पूर्वकप्तान पारस खड्कासँग प्रथम श्रेणी क्रिकेटमा दुई खेलको अनुभव भए पनि उनी अहिले टोलीमा समावेश छैनन्। सोमबार एमसिसीविरुद्धको एकदिवसीय खेलमा पनि पारस टोलीमा थिएनन्।  

यसअघि २००९ मा एमसिसीसँगै नेपालले तीन दिवसीय खेल खेलेको भए पनि त्यसलाई प्रथम श्रेणीको मान्यता दिइएको थिएन। 
.....
नेपालसँगको प्रथम श्रेणी क्रिकेटअन्तर्गत तीन दिवसीय खेलको पहिलो इनिङमा एमसिसीले ३ सय ६४ रन बनाएको छ। हिजो पहिलो दिनको खेल सकिँदा ६ विकेटको क्षतिमा ३ सय ११ रन बनाएको एमसिसीले आज ४ गुमाएर ५३ रन जोडेको हो। 

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले तीन–तीन साथै सोमपाल कामी र शरद भेषावकरले दुई–दुई विकेट लिए। पहिलो दिन बलियो अवस्थामा रहेको एमसिसीलाई दोस्रो दिनको बिहानी शत्रमा नेपाली बलरहरुले दबाबमा राख्न सकेका थिए।