काठमाडौं– नेपाली श्रमिक जापान पठाउने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र जापान सरकारको आउटसोर्सिङ कम्पनी जापान फाउन्डेसनका प्रतिनिधिबीच छलफल भएको छ।
सूचना पहुँचलाई सहजीकरण गरिनुपर्ने विषयलाई बुधबारको छलफलको मुख्य विषय बनाइएको मन्त्रालयका सहसचिव उमेश ढुंगानाले जानकारी दिए।
'बुधबारको छलफलमा भाषा परीक्षालगायत सम्बन्धित सबै विषयको सूचना पहुँच सहज बनाइनुपर्ने विषय हामीले राखेका छौं,' सहसचिव ढुंगानाले भने, 'छलफल अझै भोलिसम्म पनि छ, सरकारलाई सूचना चाहिँ पर्याप्त हुनुपर्यो भनेर हामीले कुरा राख्यौँ। भाषा परीक्षा केही समयको सेड्युल बनाइसकेको भएपनि केही समयपछि प्रत्येक दुई महिनाको अन्तरमा हुने छलफल भएको छ।’
भाषा परीक्षा, सिप परीक्षणलगायत विषयको सूचना सरकारसम्म आउन ढिलाई भएपछि सरकारसम्म सूचना पहुँचलाई सहजीकरण गर्नुपर्ने विषयलाई मुख्य रुपमा छलफलमा राखिएको बताइएको छ।
यसअघि जापान फाउन्डेसनले नेपाली परीक्षार्थीका लागि लिएको पहिलो चरणको जापानिज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्टबारे मन्त्रालयलाई कुनै जानकारी आएको थिएन।
डिल्लीबजारस्थित युनिभर्सल कम्प्युटर ल्याङ्ग्वेज एन्ड इन्टिच्युटमा अक्टोबर २७, २८ र २९ भएको उक्त भाषा परीक्षा भएको हो/होइन भन्ने विषयमा मन्त्रालय नै अलमल परेको थियो।
फाउन्डेसनले सञ्चालन गरेको भाषा परीक्षाबारे फाउन्डेसन र सम्बन्धित परीक्षार्थीलाई मात्रै जानकारी थियो।
जापानले नर्सिङ केयरमा जान इच्छुक आवेदकलाई लक्की ड्रमार्फत छनोट गरी पहिलो चरणको भाषा परीक्षा फाउन्डेसनले लिइसकेको छ। पहिलो चरणको भाषा परीक्षामा उत्तीर्ण हुनेहरुको नोभेम्बर ५, ६ र ७ सिप मूल्याङ्कन परीक्षा हुने फाउन्डेसनले जनाएको छ।
भाषा परीक्षामा कति परीक्षार्थीहरू सहभागी थिए र कति उत्तीर्ण भए भन्ने जानकारी फाउन्डेसनले मन्त्रालयलाई दिएको छैन।
ल्याङ्ग्वेज इभ्यालुएसन टेस्टमा उत्तीर्ण भएका परीक्षार्थीहरु फाउन्डेसनले सञ्चालन गर्ने स्किल टेस्टमा सामेल हुन पाउँछन्। स्किल टेस्टमा उत्तीर्ण भएका परीक्षार्थीले योग्यताको प्रमाणपत्र (सर्टिफिकेट अफ इलिजिबिलिटी) प्राप्त गरेपछि उनीहरु रोजगारीका लागि जापान जान पाउने छन्।
कसरी जोडिन्छन् रोजगारदातासम्म कामदार?
भाषा परीक्षा र सिप परीक्षण दुवैमा उत्तीर्ण भएका परीक्षार्थीहरुलाई जापानी रोजगारदातासम्म जोड्न एउटा एसेप्टिङ अर्गनाइजेसन तय गरिने बताइएको छ।
सो एसेप्टिङ अर्गनाइजेसनले श्रमिक र रोजगारदाताबीच पुलको रुपमा काम गर्दछ। पास भएका परीक्षार्थीलाई रोजगारदातासम्म सम्पर्कमा पुर्याउन अर्गनाइजेसनले काम गर्दछ।
रोजगारदाताले आवश्यकताअनुसार कामदार छनोट गर्छन्, श्रमिकहरु र रोजगारदाताबीच कन्ट्रयाक हुन्छ। यसपछि श्रमिकहरुको सर्टिफिकेट अफ इलिजिबिलिटी(सिओइ)का लागि रोजगारदाताले श्रमिकहरुको डकुमेन्ट जापानको इमिग्रेशन ब्युरोमा पेस गर्दछ।
डकुमेन्ट अध्ययन गरी इमेग्रेसनले कामदारलाई सिओई प्रदान गर्दछ। सिओई श्रम स्वीकृतिका लागि आवश्यक डकुमेन्टमध्ये एक हो। श्रमिकले सिओइ प्राप्त गरेपछि श्रम स्वीकृतिका लागि आवश्यक प्रकृया अगाडि बढ्छ।
गभरमेन्ट टु गभरमेन्ट (जिटुजि)मार्फत् श्रमिकहरु जापान पठाउने भनिए पनि कुन प्रक्रियामार्फत् नेपाली श्रमिकहरु जापान पठाउने भन्ने विषयमा सरकारले टुंगो लगाउन सकेको छैन। यस विषयको सहजीकरणका लागि सरकारले जापान युनिट गठन गरेको छ।
केयरगिभर लैजाने विषयमा काठमाडौंस्थित जापानी दूतावास र नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सम्झौता भइसकेको छ।
जापान र नेपालबीच २०७५ चैत्र ११ मा भएको श्रमिक आपूर्ति बारे सहकार्यको समझदारीअनुसार पहिलो पटक नेपालबाट नर्सिङ तथा केयर गिभरमा कामदार लैजान लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।