काठमाडौं- आगामी मंसिर १४ मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसबाट कास्की-२ मा प्रतिनिधि सभा सदस्यका लागि अन्ततः खेमराज पौडेलले टिकट पाएका छन्।
उपनिर्वाचनमा लड्ने उम्मेदवार चयन गर्न कांग्रेसलाई निकै ठुलो सकस भएको थियो। दुई दिन बसेको पदाधिकारी बैठकमा मत/प्रतिमतबीच पौडेलेले उम्मेदवारीमा बाजी मारेका छन्।
कास्की-२ को उम्मेदवारीमा आंकाक्षी केन्द्रीय सदस्य धनराज गुरुङ देखिएपछि मंगलबारको बैठक उनलाई केन्द्रमा राखेर चलेको थियो। मंगलबार बिहान पदाधिकारी बैठकमै पुगेका गुरुङले बुधबार भने इच्छा त्यागेका थिए।
गुरुङले दाबी त्यागेपछि आकांक्षी उम्मेदवारमा गत निर्वाचनमा पराजित देवराज चालिसे देखिएका थिए। चालिसेका पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलासमेत थिए। बुधबार बिहान बसेको पदाधिकारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले संस्थापन इतरका नेतालाई जिल्याउँदै खेमराज पौडेलको नाम अघि सारे।
पौडेलका पक्षमा तर्कवितर्क केही बेरसम्म जारी रह्यो। देउवाले पौडेलको नामबाट पछि नहट्ने अडान लिएपछि देउवा इतरका नेताहरुले प्रदेशसभा सदस्यमा हिस्सेदार खोज्दै बाहिरिए। पौडेल र सिटौलाले सर्वाधिकार सभापतिलाई दिएको बताउँदै बाहिरिए पनि त्यो उनीहरुको एक प्रकारले असन्तुष्टि थियो।
सात दशक काटेका पौडेलको पक्षमा पार्टी सभापति देखिएपछि अन्य नेताको केही लागेन। अन्य उम्मेदवारको चयन नहुँदै कास्की-२ का उम्मेदवार टुंग्याएका देउवाले टिकटको पत्र पौडेललाई थमाएका थिए। पौडेलले टिकट प्राप्त गर्नु जिल्लाबाट सद्भाव पनि थियो।
जागरण अभियानमा खटिएका केन्द्रीय सदस्य तथा प्रदेश सदस्यहरुले पनि पौडेललाई टिकट दिन उपयुक्त हुने राय राखेका थिए। उमेरले बुढ्यौली भए पनि टिकटको दौडमा पौडेलले अन्य १५ जनालाई उछिन्न सफल भए।
को हो हुन् पौडेल?
उमेरले पाका नेता पौडेल कांग्रेस संस्थापक नेता बिपी कोइरालासँगै राजनीति गरेका व्यक्ति हुन्। ७४ वर्षीय उनी कांग्रेसमा लागेर लाभको पदमा नपुगेका कास्कीका सरल नेताका रुपमा परिचित छन्।
पौडेललाई यसअघि चुनाव लडेको अनुभव छैन। कांग्रेसीहरु उनलाई निष्ठावान् जिल्ला नेताका रुपमा चिन्छन्। कांग्रेसका कास्की जिल्ला सभापति कृष्ण केसी उम्मेदवार पौडेलबारे भन्छन्, ‘उहाँले टिकट पाउँदा अन्यले चित्त दुखाउँदैनन्। उहाँको जिन्दगीको पहिलो उम्मेदवारी हो यो।’
यसअघि कास्की-२ मा घर भएका हाल कास्कीको निर्वाचन क्षेत्र नम्बर ३ मा बसोबास गर्छन्। गणेशमान फाउन्डेसन कास्कीका जिल्ला संयोजक पौडेल पोखरा विश्वविद्यालयका सिनेट सदस्य पनि हुन्।
कांग्रेस राजनीतिमा लामो समयको क्रियाशीलता रहेको देखेर नै पौडेललाई टिकट दिइएको धेरैको आँकलन छ। जिल्ला कार्यसमितिबाट सिफारिसमा परेर टिकटको लागि देउवा निवासमा ढुकिरहेका एक स्थानीय नेता भने उनलाई टिकट दिएको प्रति बेखुसी थिए। पौडेललाई दिएको टिकटले कांग्रेसको पराजय हुने निष्कर्ष सुनाउँदै उनले भने, ‘७० कटेका व्यक्तिले चुनाव जित्दैनन्। जित्नेलाई कांग्रेसले टिकट दिँदैन।’
अर्कोतर्फ चर्चामा रहेर टिकटबाट बन्चित भएका उम्मेदवारका दावेदार देवराज चालिसेले सहृदयता देखाएका छन्। चालिसेले पौडेललाई ‘आदरयोग्य नेता’ भएको प्रतिक्रिया दिए। जिल्ला सभापति केसीले उम्मेदवारको टिकट पाएका पौडेलले कांग्रेसबाट टिकट पाएका अन्यले भन्दा कम मत नल्याउने दाबी गरे।
सामाजिक आन्दोलनमा लागेर पछिल्लो समय निष्क्रिय रहेका ठुलो संख्याका नेताको सहानुभूति पौडेलको पक्षमा देखिने केसीको बुझाई छ। उनले भने, ‘निष्ठाका लागि उम्मेदवार प्राप्त भएको छ। उहाँको पक्षमा मत माग्न अझ सहज भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।