काठमाडौं- उप-निर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा नेपाली कांग्रेसभित्र तीव्र विवाद भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको बैठकमा कास्कीसहित अन्य क्षेत्रको उम्मेदवार तय गर्ने विषयमा विवाद भएको हो।
सभापति देउवाले एक पक्षीय रुपमा उम्मेदवारको नाम अगाडि सारेपछि असन्तुष्टि जनाएर महामन्त्री सशंका कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलले बैठक बहिस्कार गरेर निस्केका छन्।
देउवा निवास बुढानिलकण्ठमा भएको बैठकमा साझा उम्मेदवार तय गर्नुपर्नेमा देउवाले एकलौटी रुपमा उम्मेदवारको नाम प्रस्ताव गरेर निर्णय गरेपछि आफूहरू बैठकस्थलबाट निस्केको एक नेताले बताए।
हिजोसम्म कास्कीका लागि नेता धनराज गुरुङको नाम चर्चामा रहेको थियो। छलफलमा पौडेल र कोइराला पक्षले देवराज चालिसेको नाम अगाडि सारेका थिए। तर देउवाले उनको सट्टामा खेमराज पौडेलको नाम सारेका थिए।
अन्य क्षेत्रमा पनि देउवाले सहमतिको उम्मेदवार भन्दा आफ्नो खल्तीको सूची निकाल्न थालेपछि आफूहरू बस्नुको अर्थ नदेखेर निस्केको ती नेताले बताए। उनीहरू बाहिरिएपछि देउवा भने अझै नाम टुङ्ग्याउने तयारीमा रहेका छन्।
उनले पत्रकार सम्मेलन गरेर उप-चुनावमा सहभागी हुने उम्मेदवारहरूको नाम सार्वजनिक गर्ने तयारी गरेका छन्।
उप-निर्वाचन हुने कास्की, भक्तपुर, बागलुङ,दाङमा देउवाले आफू निकटका व्यक्ति अघि सारे पछि पौडेल,सिटौला,महामन्त्री शशांक ले बैठक छोडेर निस्किएका हुन्। देउवा निकट व्यक्ति हरुको बैठक जारी रहेको छ। महामन्त्री पूर्ण बहादुर खड्का, सहमहामन्त्री, डा प्रकाशशरण महत ,प्रवक्ता विश्वप्रकाश शर्मा उक्त वैठकमा रहेका छन्।
नाम टुंगिने समय अनिश्चित
पौडेल र कोइराला समूहले बहिस्कार गरेपछि उप-निर्वाचनमा भाग लिने उम्मेदवारको नाम टुङ्गिने अनिश्चित भएको छ।
साझा उम्मेदवार तय गर्ने भनिएपछि त्यसो हुन नसकेपछि अनिश्चित भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।