काठमाडौं– त्रिभुवन आर्मी क्लबले तेस्रो हेटौंडा गोल्डकपको उपाधि जितेको छ। शनिबार भएको उपाधि भिडन्तमा नेपाल पुलिस क्लब पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो।
आर्मीलाई उपाधि जिताउन गोलकिपर विकेश कुथु नायक बने। उनले पुलिसका २ पेनाल्टी प्रहारलाई विफल पारेका थिए। पुलिसका तेज तामाङ र बुद्ध लामाको प्रहारलाई विकेशले विफल पारेका हुन्।
प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै त्रिभुवन आर्मीका विमल पाण्डेले रु ५० हजार प्राप्त गरेर त्यस्तै उत्कृष्ट गोलकिपरमा आर्मीकै विकेश कुथु घोषित हुँदै रु २० हजार, उत्कृष्ट डिफेन्स नेपाल पुलिसका दिनेश राजवंशी, वेष्ट फरवार्ड नेपाल पुलिसकै अभिषेक रिजाल, वेष्ट मिड फिल्डर पुलिसकै तेज तामाङ घोषित हुँदै जनही रु १५ हजार प्राप्त गरे।
योसँगै आर्मीले सिजनमा उपाधिमा दोहोरो ह्यट्रिक गरेको छ। यसअघि आर्मीले अघिल्लो साता सिमरा गोल्डकपको उपाधि जितेको थियो। त्यसअघि आर्मीले सुदूरपश्चिम गोल्डकप, काँकडभिट्टा गोल्डकप, शिव सताक्षी गोल्डकप र विशाल मेमोरियल गोल्डकप जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।