काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताहरुले आगामी मंसिर १४ मा हुने उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएका छन्।
आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाउने सर्वाधिकार पार्टी सभापति देउवालाई दिएको हो। सोपश्चात् बैठकस्थल देउवा निवासबाट शीर्ष नेताहरु बाहिरिएका छन्।
यसअघि मंगलबार बसेको पदाधिकारी बैठकमा कुनै सहमति नजुटेपछि सभापति देउवाले आजलाई बैठक बोलाएका थिए। मंगलबार १० घन्टाभन्दा बढी समय बैठक बसे पनि कुनै टुंगोमा पुग्न सकेको थिएन।
सभापति देउवाले आजै उम्मेदवारको टुंगो लगाउने बताइएको छ। देउवा निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गरी उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी भइरहेको एक नेताले बताए।
प्रतिनिधिसभाअन्तर्गत कास्की-२ सहित भक्तपुर, बागलुङ र दाङका प्रदेशसभा सदस्य उम्मेदवारको नाम सभापति देउवाले एकल निर्णयमार्फत सार्वजनिक गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।