जनकपुर- पर्सा प्रहरीले एक १४ वर्षीय बालकलाई अपहरणकारीको चंगुलबाट मुक्त गराउन सफल भएको छ।
अपहरणकारीमाथि गोली प्रहार गर्दै काभ्रेको बनेपाबाट अपहरणमा परेका १४ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्धार गरेको हो।
पर्साका एसपी सोमेन्द्र सिंह राठोरका अनुसार वीरगञ्जस्थित नेपाल-भारत सीमा क्षेत्रबाट अपहरणकारीमाथि गोली प्रहार गरी बालकलाई अपहरणमुक्त गराइएको हो। वीरगञ्ज उपमहानगरपालिकाको खलबा टोलमा गएराति १ बजेतिर गद्धारका क्रममा गोली चलाउँदा एक अपहरणकारीसमेत घाइते भएका उनले जानकारी दिए।
अपहरणकारीको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद गरिएको एसपी राठोरले बताए।
अपहरणमुक्त गर्नुअघि बालकलाई भारत रक्सौलस्थित हरैयाको एक घरमा बन्धक बनाएर राखिएको एसपी राठोरले जानकारी दिए। ‘बालकको अवस्था सामान्य छ,’ उनले भने।
बालकका अभिभावक आफूहरुको सम्पर्कमा आइसकेको जानकारी दिँदै एसपी राठोरले अपहरणकारीले बालकलाई बनेपाबाट १० दिनअघि अपहरण गरेको बताए।
प्रहरीले उद्धार गरिएका बालक र गोली लागेका अपहरणकारीको नाम सार्वजनिक गरेको छैन।
खुट्टामा गोली लागेका अपहरणकारीको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।