काठमाडौं– उप निर्वाचनका लागि उम्मेदवार चयन गर्न कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दैछ।
बैठक नौ बजेका लागि देउवा निवास बुढानिलकण्ठमा बोलाइएको हो।
हिजो दिनभरजसो बैठकले उम्मेदवार चयन गर्न सकेको थिएन। पदाधिकारी बैठकमा १० घन्टाभन्दा बढी छलफल भए पनि निर्णयमा पुग्न नसकी टुंगिएको हो।
हिजोको बैठकमा शीर्ष नेता बीच नै विवाद भएको भएको थियो। उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी सभापतिलाई प्रदान गर्ने विकल्प संस्थापन पक्षका नेताहरुले राखेका थिए। उक्त विकल्पलाई देउवा इतरका नेताहरुले अस्वीकार गरेका थिए।
सामूहिक बैठक गर्ने वा देउवालाई जिम्मेवारी दिने बारे कुनै सहमति हुन नसकी बैठक सकिएको थियो।
प्रतिनिधि सभा अन्तरगतको कास्की २ मा विवाद रहेको बताइएपनि अन्य क्षेत्रमा समेत नेताहरुले आ-आफ्नो निकटका व्यक्तिलाई अघि सारेपछि सहमति हुन नसकेको बताइएको छ।
जिल्लाबाट सिफारिस भएका व्यक्तिहरू देउवा निवासमा दिनभर रुंघेर साँझ बासस्थान फर्केका छन्। टिकटको आशामा कास्की, बागलुङ, दाङ, भक्तपुरका सिफारिस उम्मेदवार दिनभर नेताहरुको निर्णयको प्रतिक्षामा थिए। मंगलबार नै निर्णय हुने दाबी गरेका नेताहरुले नाम सार्वजनिक गर्न भने सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।