काठमाडौं- आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका उम्मेदवार छान्न नेपाली कांग्रेसलाई हम्मेहम्मे परेको छ।
उम्मेदवार चयन गर्न बसेको पदाधिकारी बैठक १० घन्टाभन्दा बढी छलफल गर्दा पनि निर्णयमा पुग्न नसकी टुंगिएको छ।
उम्मेदवार चयनमा शीर्ष नेता बीच विवाद भएपछि बिना निष्कर्ष बैठक सकिएको हो। उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी सभापतिलाई प्रदान गर्ने विकल्प संस्थापन पक्षका नेताहरुले राखेका थिए। उक्त विकल्पलाई देउवा इतरका नेताहरुले अस्वीकार गरेका छन्।
सामूहिक बैठक गर्ने वा देउवालाई जिम्मेवारी दिने बारे कुनै सहमति हुन नसकी आजको बैठक सकिएको छ। बुधबार १२ बजे अघि बैठक बस्ने भनिएपनि समय निश्चित गरिएको छैन।
सभापति शेर बहादुर देउवा निवासमा बिहान १० बजे देखि बसेको बैठक साँझ अबेरसम्म टुंगोमा पुग्न सकेन। उम्मेदवारी दर्ताको समय दुई दिन पनि बाँकी नरहेको अवस्थामा समेत कांग्रेस निर्णयमा पुग्न सकेको छैन। सात सदस्यीय पदाधिकारी सहित वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण प्रसाद सिटौला सहभागी बैठक अनिर्णीत बनेको छ।
प्रतिनिधि सभा अन्तरगतको कास्की २ मा विवाद रहेको बताइएपनि अन्य क्षेत्रमा समेत नेताहरुले आ-आफ्नो निकटका व्यक्तिलाई अघि सारेपछि सहमति हुन नसकेको बताइएको छ।
जिल्लाबाट सिफारिस भएका व्यक्तिहरू देउवा निवासमा दिनभर रुंघेर साँझ बासस्थान फर्केका छन्।टिकटको आशामा कास्की,बागलुङ,दाङ,भक्तपुरका सिफारिस उम्मेदवार दिनभर नेताहरुको निर्णयको प्रतिक्षामा थिए। मंगलबार नै निर्णय हुने दाबी गरेका नेताहरुले नाम सार्वजनिक गर्न भने सकेनन। बैठक कै बीचबाट बाहिरिएका उपाध्यक्ष द्धय विमलेन्द्र निधि र विजय गच्छदारले मंगलबार नै टुंगोमा पुगिने बताएका थिए।
गुटको व्यक्ति नहेरेर निर्वाचन जित्ने व्यक्तिको पक्षमा रहेको नेताहरुले दाबी गरे पनि गुट कै कारण बैठक लम्बिएको बताइएको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।