काठमाडौं- भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग पनि समेटिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै कांग्रेसको ध्यानाकर्षण भएको उल्लेख गरेका हुन्।
'कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन्। नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर गम्भीर पहलकदमी गरोस्। नेपाली माटोबारे कहीँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्वीकार्य छ,' शर्माले गरेको ट्विटमा उल्लेख छ।
मंगलबार नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि भारतले जारी गरेको नयाँ नक्सामा नेपालको लिपुलेक र कालापानी पनि समावेश भएको भन्दै आपत्ति जनाइसकेको छ। तर सरकारले भने यो विषयमा कुनै पनि धारणा सार्वजनिक गरेको छैन।
भारतले हालै नयाँ नक्सा सार्वजनिक गरेको छ। नयाँ नक्सामा छिमेकी देशका भूभाग समेटिएको भन्दै छिमेकी देशहरूले आपत्ति जनाएका छन्। यसअघि काश्मीरका विवादित भूभाग भारतको नक्सामा पारिएको भन्दै पाकिस्तानले विरोध जनाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।