काठमाडौं- पार्टी एकीकरणको प्राविधिक विषय टुंग्याउन वाम गठबन्धनले गठन गरेको कार्यदलले आपचारिक गृहकार्य सुरु गरेको छ। माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल संयोजकत्वको विधान मस्यौदा तथा संगठनात्मक कार्यदलको पहिलो बैठक शनिबार माओवादीको केन्द्रीय कार्यालय कोटेश्वरको पेरिसडाडाँमा बस्यो।
बैठकमा एमाले र माओवादी केन्द्रले आ-आफ्नो संगठनका अनुभवहरु आदनप्रदान गर्दै एकीकृत पार्टीको सांगठनिक संरचना बनाउने विषयमा छलफल गरेका छन्। कार्यदलको अबको बैठकले एकीकृत पार्टीको सांगठनिक संरचनाको विषयमा मिहीन ढंगले छलफल गर्ने कार्यदल सदस्य एवं एमाले नेता गोकर्ण विस्टले बताए।
विष्टले संघीय संरचना अनुसार एकीकृत पार्टीको सांगठनिक स्वरुप तयार गरिने जानकारी दिए। कार्यदलको अर्को बैठक एमाले केन्द्रीय कार्यालय धुम्बराहीमा आगामी मंगलबार १२ बजे बस्नेछ।
गत फागुन ७ मा पार्टी एकताको औपचारिक निर्णय गरेका वाम गठबन्धनले सांगठनिक र सैद्धान्तिक विषयको प्राविधिक समस्या समाधान गर्न दुई कार्यदल बनाएका थिए। लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विधान मस्यौदा तथा संगठनात्मक कार्यदल र प्रतिवेदन मस्यौदा कार्यदलको संयुक्त बैठकमा वाम गठबन्धनका प्रमुख नेताले फागुन २५ भित्र अन्तिम प्रतिवेदन बुझाउन समय सीमा दिएका थिए।
प्राविधिक विषय समाधान गर्दै पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी वाम गठबन्धनको छ।
कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, बेदुराम भुसाल, रघुवीर महासेठ र सुरेन्द्र पाण्डे तथा माओवादीबाट रामबहादुर थापा बादल, गिरिराजमणि पोखरेल, मातृका यादव, वर्षमान पुन र जनार्दशन शर्मा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।