चितवन- पूर्वी चितवनको कयर खोलामा अवैधरुपमा ढुंगा गिट्टी उत्खनन गर्दै गर्दा २४ वटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले अवैध उत्खनन गरिरहेको अवस्थामा शुक्रबार ट्र्याक्टरलाई नियन्त्रणमा लिएको हो। सो खोलामा ढुंगा गिट्टी उत्खननको लागि कालिका नगरपालिकाको कञ्चन निर्माणले ठेक्का पारेको थियो। जिल्ला समन्वय समितिमार्फत चितवनका खोलानालाबाट ढुंगा गिट्टी निकासीको टेन्डर हुने गरेको छ।
यसअघि पनि पटकपटक अवैध रुपमा निकासी हुने गरेको भन्ने व्यापक जनगुनासो बढेपछि स्थानीय निकायले अनुगमन गर्ने क्रममा ट्र्याक्टर नियन्त्रणमा लिएको प्रमुख वनले बताए।
चितवनका खोलामा पछिल्लो समय अवैध रुपमा ढुंगा गिट्टीको निकासी व्यापक हुने गरेको जनगुनासो आइरहेको छ। प्राविधिकले तोकेको स्थानभन्दा बाहिरबाट ढुंगा गिट्टी बालुवा निकासी गर्दा प्राकृतिक स्रोतको दुरुपयोग हुने र अवैध हुने जिल्ला समन्वय समिति चितवनले जनाएको छ।
सो क्षेत्रबाट लाखौँ टिप अवैध रुपमा निकासी भएको भन्दै प्रमुख वनले आफ्नो क्षेत्रमा यस खाले उत्खनन हुन नदिने बताए। सो क्षेत्र रत्ननगर नगरपालिकाको वडा नम्बर १४ मा पर्दछ।
इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले २४ वटै ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको जानकारी दिँदै कारबाहीका लागि जिल्ला समन्वय समिति भरतपुरमा पठाएको बताए।
प्राविधिकले तोकेको स्थानबाहेक अन्यत्रबाट ढुंगा, गिट्टी, बालुवा निकासी गरिएको भए उनीहरुलाई कारबाही गरिने जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले जानकारी दिए। कारबाहीमा जरिवाना, सामान जफत लगायत ठेक्कासमेत रद्द गर्न सकिने उनले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।