काठमाडौं- कांग्रेसले निर्वाचनमा भएको अन्तर्घातको उजुरी चैत १५ सम्म दिन सकिने जनाएको छ। पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले निर्वाचनमा आधिकारिक उम्मेदवार विरुद्ध असहयोग र अन्तर्घात गरेको उजुरी चैतको दोस्रो सातासम्म दिन सकिने जनाएको छ।
कांग्रेसले स्थानीय निर्वाचनसँगै प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न गत असोजमा रमेश रिजालको अध्यक्षतामा समिति गठन गरेको थियो। समिति गठन हुनासाथ स्थानीय तह निर्वाचनमा भएका अन्तर्घातको विषयमा उजुरी दिन १५ दिनको म्याद दिइएको थियो।
छानबिन समितिको शुक्रबार बसेको बैठकले भने मुलुकभर सम्पन्न सबै चरणका निर्वाचनमा असहयोग र अन्तर्घात गर्ने विरुद्ध उजुरी दिन चैत १५ सम्मको समय दिएको हो। समितिले चैत १५ भित्र आएका उजुरीको मात्र छानविन गर्ने निर्णय गरेको छ।
नेपाल लाईभसँग समितिका संयोजक रिजालले पहिलोचरणमा स्थानीय चुनावको विषयमा परेका उजुरीको छानविन सुरु गरिने बताए। ‘जिल्लागत रुपमा हामीले उजुरी लिएका छौं। कुनै सामान्य उजुरी पनि परेका छन्, तर प्रमाणसहित पेश गरिएका उजुरीमा मात्र हामी कारबाही प्रक्रिया अघि बढाउँछौं,’ उनले भने।
जिल्लागत रुपमा धेरै उजुरी परेको र उजुरी आउने क्रम जारी रहेकाले संख्या एकिन गर्न नसकिएको रिजालले बताए।
स्थानीयसँगै प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीकै असहयोग र अन्तर्घातले कांग्रेसले हार ब्यहोरेको भन्दै सभापति शेरबहादुर देउवाले त्यसको निष्पक्ष छानबिन गरेर कारबाही गरिने बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।