र्‍याकबाटै राजेश हमालको प्रिय पुस्तक हराएपछि...

अनिल यादव | २०७६ कार्तिक २० बुधबार | Wednesday, November 06, 2019 ०५:५१:०० मा प्रकाशित

राजेश हमाल अभिनयको मात्रै होइन, पुस्तकका पनि उत्तिकै सौखिन हुन्। उनका घरका र्‍याक किताबैकिताबले भरिएका छन्। उनी जहाँ पुगेका हुन्, झोलामा पुस्तक कहिल्यै छुट्दैन। 

फुर्सद हुनासाथ उनी पुस्तक पढ्न रुचाउँछन्। ‘ठ्याक्कै कुन बेला पढ्छु भन्ने छैन। मेरो ब्यागमा दुई/तीनटा पुस्तक भएकै हुन्छन्। फुर्सद भयो कि निकालेर पढिहाल्छु,’ उनी सुनाउँछन्। 

उनी जीवन दर्शनका पुस्तक खोजीखोजी पढ्छन्। उनका नयन बढीजसो जीवन जीउन सिकाउने पुस्तकमा अडिन्छन्। मान्छेका आत्मकथा पनि उस्तै रुचिपूर्वक पढ्छन्।

‘एउटा मान्छेको सबैभन्दा ठूलो रुचिको कुरा भनेको अर्को मान्छे हो,’ उनी भन्छन्, ‘मान्छेको त्योभन्दा ठूलो रुचि केही हुन सक्दैन। अर्को मान्छेप्रति रुचि राख्नुको पछाडि भने सकरात्मक/नकरात्मक अनेक स्वार्थ हुन सक्छन्। त्यो बेग्लै कुरा हो। त्यसैले म पनि बढी सफल मान्छेका आत्मकथा पढ्न रुचाउँछु।’ 

000

पुस्तकसँग जोडिएका उनका अनेक किस्सा छन्। तर श्रीमती मधु भट्टराईसँगको एउटा किस्सा उनी कहिल्यै भुल्दैनन्।

किस्सा बिहेअघिकै हो। राजेशको एउटा प्रिय पुस्तक ‘इफ लाइफ इज अ गेम, दिज आर द रुल्स’ नामक पुस्तक एकाएक र्‍याकबाट गायब भयो। फेरि राजेश पुस्तक हराएको चाल चाँडै पाइहाल्थे। हराएको पुस्तक नभेटाएसम्म उनलाई अर्को पुस्तक पढ्न रुचि पनि नजाग्ने। 

त्यसैले त्यो पुस्तक गायब भएसँगै मन बेचैन भयो। जता जहाँ पुग्दा पनि ‘कहाँ गयो होला, कसले लग्यो होला’ मनमा यस्तै प्रश्न खेल्न थाले। त्यतिबेला मधु भट्टराईसँग उनी प्रेममा थिए। मधु एकपल्टमात्रै उनको घर आएकी थिइन्। 

दोश्रो पटक फेरि घर आएका बेला राजेशलाई उनलाई तनावको भावमा सुनाए, ‘मेरो त एउटा किताब नै हरायो।’ मधुले हाँस्दै सामान्य भावमा जवाफ दिइन्, ‘त्यो त मैले लगेको थिएँ।’ 

आफ्नै मान्छे, राजेश पनि कहाँ जोडले रिसाउन सक्थे र! ‘ह्या, के गर्‍या यस्तो, सोधेर लानुपर्छ नि,’ जवाफमा यति मात्रै भन्न सके। ‘आफ्नै मान्छेलाई अरु त के भन्न सक्नु र,’ राजेश मुस्कुराउँदै सुनाउँछन्। 

तर राजेश आफूले पढ्ने पुस्तक अरुलाई सेयर गर्न रुचाउँदैनन्। अरुले मागेको पनि रुचाउँदैनन्। ‘मान्छेले कति सजिलैसँग भन्छन् क्या ‘दाइ तपाईसँग त्यो बुक छ भने मलाई दिनुस् त।’ त्यतिबेला  मलाई अचम्म लाग्छ,’ राजेशले भने। 

000

आफूलाई मनपरेका पुस्तक उनी एकपटक होइन, पटकपटक पढिरहन्छन्। ‘कुनै पनि किताब एकपटक पढ्ने बित्तिकै त्यसलाई आजीवन सम्झिन गाह्रै हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले म मलाई मन परेका किताब पटकपटक पढिरहन्छु। कुनै कुनै किताब त्यस्तै हुन्छन् कि त्यसलाई रिपिट, रिभाइज र रिभर्स गर्न मन लागिरहन्छ।’

आफूले पढेका थुप्रै पुस्तकहरुमध्ये केही छन्, जुन राजेशलाई निकै जीवनोपयोगी लाग्छन्। न्यूयोर्क टाइम्सकी सर्वाधिक पढिने लेखक चेरी कार्टर स्कोर्टले लेखेको ‘इफ लाइफ इज अ गेम, दिज आर द रुल्स’ उनको प्रिय पुस्तक हो।

‘यदि जीवन एउटा खेल हो भने पक्कै राम्रो खेल खेल्नका लागि त्यहाँ नियमहरु हुन्छन्। ती नियमहरु के हुन् त? जीवनमा आइपर्ने चुनौती र उत्तरचढावहरुसँग कसरी सामना गर्ने त? पुस्तकले यस्तै धेरै कुराहरु सिकाउँछ,’ पुस्तक गफगाफका क्रममा उनी यो पुस्तक मनपर्नुको कारण यसरी खुलाउँदै थिए। 

उनको दृष्टिकोणमा मान्छे एकदमै प्रतिक्रियावादी हुन्छ, त्यसैले आफूलाई सही ढंगले विश्लेषण गरेर अघि बढ्न सकिरहेको हुँदैन। ‘यो पुस्तकमा कसरी अघि बढ्ने सुन्दर टिप्सहरु छन्। त्यसैले समय–समयमा म यो किताब र्‍याकबाट निकालेर पढिरहन्छु,’ उनी सुनाउँछन्।

त्यस्तै भेरा पाइफरको ‘मोर पोजिटिभ थिंकिङ : हाउ टु क्रिएट अ फ्युचर फर योरसेल्फ’ उनको अर्काे प्रिय पुस्तक हो। भन्दै थिए, ‘ममा सकरात्मक सोचको विकास गराउन यो पुस्तकले उपयोगी भूमिका खेलेको छ भन्दा फरक नपर्ला।’

आत्मकथा पढ्न एकदमै रुचाउने हमाललाई बेनजिर भुट्टोको ‘डटर अफ डेस्टिनी’ आत्मकथाले निकै छोएको छ।

‘पाकिस्तानको पहिलो लोकतान्त्रिक सरकारको महिला प्रधानमन्त्री समेत रहेकी उनका जीवनका किस्साहरु, उत्तरचढावहरु साँच्चै चाखलाग्दा छन्,’ उनी भन्छन्, ‘हरेक मान्छेको जीवनसँग केही न केही सिक्ने कुरा हुन्छ। भित्रबाट खोतल्ने हो भने हरेक मान्छे आफैंमा एउटा पुस्तक हो। उसका केही कुरा हाम्रो जीवनसँग पनि मेल खाइरहेको हुनसक्छ। मान्छेले जीवनमा कतिपय कुराहरु व्यक्त गर्न सकिरहेको हुँदैन तर त्यही कुरा अरुको जीवन पढ्दा आइरहेको हुन्छ। जसकारण उसलाई अरुको जीवनले छुन्छ, त्यहाँ उसले आफूलाई पनि पाउँछ। मान्छे एउटा परिस्थिति र बिन्दु लिएर जन्मिएको हुन्छ तर ५० वर्ष भइसक्दा ऊ कुन विन्दुमा पुग्छ उसलाई नै थाहा हुँदैन। बेनजिरले आफ्ना जीवनमा आइपरेका चुनौतीहरूलाई कसरी सामना गरिन्? त्यो उनको पुस्तकमा उल्लेख छ। जीवन त सबैको चुनौतीपुर्ण नै हुन्छ। तर चुनौतीलाई उसले कसरी सामना गर्‍यो त्यो चाँहि सधैं महत्वपूर्ण हुन्छ। त्यही कारण मलाई यो पुस्तक पढ्न मज्जा लागेको थियो।’

नेपाली पुस्तकहरूमा भने उनलाई बुद्धि सागरको ‘कर्नाली ब्लुज’ले खुब तानेको रहेछ। ‘बुद्धिजीको लेखाइले नै मलाई छोयो,’ उनी भन्दै थिए, ‘उनले एउटा टेबलमा कप छ भने त्यसको मात्रै चर्चा गर्दैनन्, त्यहाँ चम्चा कसरी बसेको छ, वरिपरिका मान्छे कसरी बसेका छन् लगायत सम्पूर्ण परिवेश र दृश्यलाई पनि उतार्दा रहेछन्। उनको लेखाईमा कल्पनाको प्रयोग भएपनि भोगाइ र भावना झल्किँदो रहेछ। भोगाइ र भावना त सधैं वास्तविक हुन्छ त्यसैले हरेक पाठकले यस्ता पुस्तकलाई आफ्नो जीवनसँग लिंक गरेर पढ्छन्।’