सुर्खेत– प्रदेश ६ को नाम र राजधानीबारे आज टुंगो लाग्ने भएको छ। शनिबार दिउँसो बस्ने प्रदेश सभाको चौथो बैठकमा नाम र राजधानीबारे छलफल गर्ने कार्यसूची छ।
प्रदेशसभाको बैठकअघि सबै दलसँग छलफल गरी नाम र राजधानीबारे सहमति जुटेपछि बैठकमा प्रस्ताव लैजान लागिएको संसद् सचिवालयले जानकारी दिएको छ। प्रदेश ६ मा प्रतिनिधित्व गर्ने चारवटै राजनीतिक दलले प्रदेशको नाम र राजधानीबारे सहमति जनाएकाले उक्त प्रस्ताव आजै सर्वसम्मतले पारित हुने संसद सचिवालयको विश्वास छ।
संसद् बैठकमा प्रदेशको नाम ‘कर्णाली’ राख्ने सम्बन्धी र राजधानी ‘सुर्खेत’ बनाउने सम्बन्धी प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूची छ।
संसद सचिवालयका अनुसार नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश ६ को नाम कर्णाली राख्ने सम्बन्धी प्रस्ताव पेश गर्नेछन्। उक्त प्रस्तावमाथि कांग्रेसका सांसद दिनबन्धु श्रेष्ठ, माओवादीकी सीता नेपाली र राप्रपाका सोशिला शाहीले समर्थन गर्नेछन्।
यस्तै सुर्खेतलाई राजधानी बनाउने सम्बन्धी प्रस्ताव भने नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पेश गर्ने तय भएको छ। उक्त प्रस्तावमा एमालेका गुलावजंग शाह, माओवादीका गणेशप्रसाद सिंह र राप्रपाकी सोशिला शाहीले समर्थन गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।