काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको निर्णयमा चित्त नबुझे ‘नोट अफ डिसेन्ट’ लेख्नु स्वभाविक प्रक्रिया भएको बताएका छन्।
प्रदेश प्रमुखमा सिफारिस गरिएका नामप्रति नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले लिखित असहमति जनाएकोप्रति प्रचण्डले यस्तो टिप्पणी गरेका हुन्।
सचिवालय बैठकमा नेता नेपालले पनि केही नाम अघि सारेको र त्यही अनुसार नाम सिफारिस नभएपछि त्यसप्रति असहमति जाहेर भएको भन्दै प्रचण्डले त्यो स्वभाविक भएको बताए। ‘माधव जीले एक/दुई जनाको नाम पक्कै पनि प्रस्तुत गर्नु भएको थियो,’ मंगलबार नेपालगन्जमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘तर, बैठकले त्यो निर्णय गरेन। उहाँलाई चित्त नबुझेपछि ‘नोट अफ डिसेन्ट’ लेख्ने कुरा समान्य र स्वभाविक प्रक्रिया हो।’
सोमबार बसेको नेकपाको सचिवालय बैठकले ७ प्रदेशका प्रमुखको नाम सिफारिस गरेको थियो। आफूले सिफारिस नगरेका व्यक्ति प्रदेश प्रमुखमा नियुक्त नभएपछि नेता नेपालले बैठकमा लिखित असहमति राखेका थिए।
प्रदेश प्रमुख फेर्ने कुरा पनि समान्य प्रक्रिया भएको भन्दै प्रचण्डले यसलाई ठूलो कुराको रुपमा प्रचार नगर्न पनि पत्रकारलाई आग्रह गरे।
‘प्रदेश प्रमुखले सरकारका प्रतिनिधिका रुपमा काम गर्ने हो,’ प्रचण्डले भने, ‘सरकार परिर्वतन भएपछि यस्ता फेरबदल हुनु समान्य प्रक्रिया हो। सरकार फेरिँदा गर्भनरहले राजीनामा दिने र सरकारलाई काम गर्न सजिलो पार्ने प्रचलन पनि दुनियाँमा छ। यसलाई ठूलो कुरा बनाउनु आवश्यक छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।