काठमाडौं- नेपाली कांग्रेसले आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको लागि मंगलबार उम्मेदवार चयन गर्दैछ। त्यसका लागि सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बसिरहेको छ।
आइतबार नै उम्मेदवार छनोट गर्ने तयारी थियो। तर, केही नेताहरु छठको लागि मधेस गएका कारण बैठक नै बस्न सकेको थिएन।
देउवा निवासमा बसिरहेको पदाधिकारी बैठकलाई आफूतिर प्रभावित पार्न आकांक्षी नेताहरु समेत देउवा निवास परिसरमा देखिन्छन्। तिनै मध्येका एक हुन्, धनराज गुरुङ।
उनी कास्की क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका आकांक्षी हुन्। आफ्नो आकांक्षा उनले विभिन्न माध्यमबाट शीर्ष नेताहरु समक्ष पुर्याइसकेका छन्। यद्यपि, टिकट वितरण हुने अन्तिम दिन पनि उनी अन्तिम प्रयासमा जुटेका छन्।
गत निर्वाचनमा स्याङ्जाबाट प्रदेश सदस्यको टिकट पाएका थिए गुरुङले। तर, प्रतिनिधिसभामै आउने चाहना राखेका उनले प्रदेशसभाको टिकट त्यागिदिए।
कास्की-२ बाट उम्मेदवार बन्न गुरुङले इच्छा देखाएको भए पनि जिल्ला कार्यसमिति कास्कीले भने उनको नाम केन्द्रमा सिफारिस गरेको छैन।
जारी बैठकमा सम्बन्धित जिल्लाका केन्द्रीय सदस्य, आकांक्षी र देउवा निवासमा उपस्थित पदाधिकारीहरु सिफारिस भएका उम्मेदवारसँग छलफल गरिरहेका छन्।
यद्यपि, यतिबेला अन्य तहको उम्मेदवारमा लगभग सहमति जुटिसकेको भए पनि कास्की-२ मा उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा भने पदाधिकारीबीच एकमत हुन नसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
'कास्की-२ कै कारण बैठक लम्बिएको हो,' प्रवक्ता शर्माले भने, 'दिउँसो २ बजे अघि टुंगोमा पुग्ने सम्भावना छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।