काठमाडौं– क्यारेबियन प्रिमियर लिग (सिपिएल) को 'ड्राफ्ट'मा परेमा नेपाली खेलाडी पनि परेका छन्।
शनिबार राति घोषणा गरिएको ड्राफ्टमा ३ सय ४८ खेलाडी छन्। जसमा २ सय २७ विदेशी तथा इन्डिजका १ सय २१ जना खेलाडी छन्। ड्राफ्ट सिपिएलका फ्रेन्चाइज टिमलाई दिइएको छ। अब यी खेलाडीको अक्सन मार्च १ मा हुनेछ। अक्सन लन्डनमा हुने सिपिएलले जनाएको छ।
नेपालका खेलाडी १८ देशका खेलाडी सिपिएलको ड्राफ्टमा छन्। अधिकांश टेस्ट राष्ट्रसहित क्यानडा, अमेरिका, ओमान, हङकङ, स्कटल्यान्ड, नेपाल, युएई र केन्याका खेलाडी पनि ड्राफ्टमा समेटिएका छन्।
सिपिएल आगामी ८ अगस्टदेखि १६ सेप्टेम्बरसम्म हुनेछ। सिपिएलमा ६ टिम सहभागी हुनेछन्। जसमा बार्बाडोस ट्रिडेन्ट्स, गुयना अमाजोन वारियर्स, जमैका तालावाहस, सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स, सेन्ट लुसिया र ट्रिन्बागो नाइटराइडर्सले प्रतिस्पर्धा गर्नेछन्।
ड्राफ्टमा नेपालको तर्फबाट राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने भएको अनुमान गरिएको छ। अक्सनमा परेको विषयमा सन्दीपले केहि बोलेका छैनन्। यद्यपी ड्राफ्टमा नाम राख्नका लागि सन्दीपले पहल गरेको नेपाली टिम स्रोतले जनाएको छ।
यसअघि सन्दीप गत महिना इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सन सूचीमा परेका थिए। उनलाई अक्सनमार्फत दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा आबद्ध गरेको थियो। त्यसअघि पाकिस्तान प्रिमियर लिग र ढाका प्रिमियर लिगको ड्राफ्टमा परेका सन्दीप अक्सनमा भने छनोट हुन असफल भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।