काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको टुंगो लगाउने भएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लागउनेछ। बैठक बिहान ९ बजेका लागि डाकिएको छ।
पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण प्रसाद सिटौला पनि सहभागी हुनेछन्।
यसअघि आइतबार उपनिर्वाचनका लागि उम्मेदवार छान्न बस्ने भनिएको कांग्रेस बैठक स्थगित भएको थियो। कांग्रेस पदाधिकारीलाई उपनिर्वाचनका उम्मेदवार तय गर्ने जिम्मेवारी दिँदै बैठक स्थगित भएको थियो।
सो बैठकमा कांग्रेसका उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार उपस्थित हुन नसकेपछि बैठक स्थगित गरिएको थियो।
मंगलबार पनि एक चरण सम्बन्धित जिल्लाका केन्द्रीय सदस्यसँग पदाधिकारीले छलफल गर्नेछन्। सोपश्चात् मात्रै उम्मेदवारको टुंगो लगाइने एक नेताले बताए।
कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य सहित प्रदेशसभा सदस्य तथा विभिन्न स्थानीय तह गरी जनप्रतिनिधिविहीन ५२ स्थानमा निर्वाचन हुँदैछ। सोका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, साझा पार्टी तथा समाजवादी पार्टीले आफ्ना उम्मेदवार घोषणा गरिकसकेका छन्।
विवेकशील नेपाली दलले पनि आजै उम्मेदवार घोषणा गर्ने अध्यक्ष मिलन पाण्डेले बताए। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।