काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेश प्रमुखमा सिफारिस गरेका नामप्रति नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले लिखित असहमति जनाएका छन्।
नेता नेपालले सोमबार बसेको सचिवालय बैठकमा नेकपाले सिफारिस गरेका नामप्रति लिखित असहमति राखेका हुन्।
उनी निकट एक नेताका अनुसार पार्टीलाई साथ नदिएका व्यक्ति प्रदेश प्रमुखमा सिफारिस गरिएको भन्दै नेता नेपालले असन्तुष्टि जनाएका हुन्। कसैले मन पराउँदैमा पार्टीलाई अहिलेसम्म भोट समेत नदिएको व्यक्तिलाई प्रदेश प्रमुखमा सिफारिस गरिएको भन्दै उनले असहमति राखेका हुन्।
नेता नेपालले आफ्ना तर्फबाट अमृत बोहरा, प्रदीप नेपाल, विश्वकान्त मैनाली, रघुजी पन्त र श्रीमाया थकाली लगायतको नाम सिफारिस गरेका थिए। उनले सिफारिस गरेका कुनै पनि व्यक्तिलाई नेकपाले प्रदेश प्रमुख बनाएनन्।
यस्तै, सचिवालयको सिफारिसप्रति नेकपा केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले पनि असन्तुष्टि जनाएका छन्। उनले सात प्रदेश प्रमुख नियुक्त गर्दा कर्णालीलाई छुट्टाइएकोमा आश्चर्य व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘सात प्रदेश प्रमुख नियुक्त गर्दा कर्णालीलाई छुटाएकोमा आश्चर्य लागेको छ। अन्तका मेयर हारेकाको योग्यता पुग्दोरहेछ। तर, कर्णालीकालाई योग्यता पुग्न के-के चाहिने रहेछ?’
यसअघि, सचिवालय बैठकले प्रदेश प्रमुखमा अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी ’प्यासी’ (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), विष्णु प्रसाईं (झापा), गोविन्द कलौनी (डडेल्धुरा) र शर्मिला त्रिपाठी (काठमाडौं)लाई बनाउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।