काठमाडौं– सातैवटा प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्। सोमबार मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरेकी हुन्।
प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख रहने र राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ।
आइतबार मात्रै सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेशका प्रमुखलाई बर्खास्त गरेकी थिइन्।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठले सातै प्रदेशका प्रमुखको नाम टुंगो लगाएको थियो। ७ प्रदेशका लागि पूर्व एमाले र माओवादी केन्द्रले क्रमशः ४ र ३ नाम भागबण्डा गरेका थिए। विष्णु प्रसाईं, सोमनाथ अधिकारी प्यासी, धर्मनाथ यादव र गोविन्द कलौनी पूर्व एमालेका नेताहरु हुन्। त्यस्तै, अमिक शेरचन, तिकल परियार र शर्मिला पन्त त्रिपाठी पूर्व माओवादीका हुन्।
राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि पाँच वर्षको हुनेछ।
सोमनाथ प्यासी– प्रदेश १
प्यासी पुराना वामपन्थी नेता हुन्। उनी २०४८ सालमा एमालेबाट सांसद बनेका थिए। उनी २०७४ सालको चुनावमा तत्कालीन एमालेको समानुपातिक सूचीमा थिए। पार्टीमा उनी अध्यक्ष ओली निकट मानिन्छन्। उनलाई कास्की २ को उपनिर्वाचनका लागि प्रदेश कमिटीले उम्मेदवारको सूचीमा राखेको थियो। तर, अन्ततः उम्मेदवार भने विद्या भट्टराईलाई बनाइयो। उनी नेकपाको स्थायी आमन्त्रित केन्द्रीय सदस्य हुन्।
तिलक परियार– प्रदेश २
परियार पूर्वमाओवादी नेता हुन्। चर्चित नेताहरुमै पर्ने उनी अन्तरिम व्यवस्थापिकाको सदस्य तथा पहिलो संविधानसभामा बाँके १ का निर्वाचित सभासद थिए।
संविधानसभाको दोस्रो चुनाव भने उनले वैद्य माओवादीमा लागेर बहिस्कार गरेका थिए। उनी वैद्य नेतृत्वको पार्टी हुँदै विप्लवतिर पनि लागेका थिए। तर, २०७३ सालमा उनी त्यहाँबाट अलग भएका थिए। पछि उनी माओवादी केन्द्रमा फर्किएका थिए।
२०२८ सालदेखि राजनीतिमा लागेका परियार कुनै बेला माओवादी निकट दलित मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष तथा माओवादीका केन्द्रीय सल्लाहकारसमेत थिए।
बिष्णु प्रसाईं– प्रदेश ३
२०७४ सालमा सम्पन्न स्थानीय तहको चुनाव अन्तर्गत प्रसाईं झापाको मेचीनगर नगरपालिकामा तत्कालीन एमालेका तर्फबाट प्रतिस्पर्धी थिए। तर पराजित भएका थिए।
उनी नेपाली कांग्रेसका उम्मेदवार विमल आचार्यसँग पराजित भएका थिए। आचार्यले २० हजार ७ सय ७६ मत ल्याउँदा प्रसाईंले १९ हजार १ सय ९२ मत पाएका थिए। प्रसाईं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष ओली निकट मानिन्छन्। उनी नेकपाका प्रदेश १ कमिटी संगठनमा पनि छन्।
अमिक शेरचन– गण्डकी
दोस्रो जनआन्दोनपछि गठित अन्तरिम सरकारमा शेरचन उपप्रधानमन्त्री भएका थिए। गिरिजाप्रसाद कोइराला नेतृत्वको सो सरकारमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली समेत उपप्रधानमन्त्री थिए। उनी बाह्र बुँदे समझदारीका एक हस्ताक्षरकर्ता समेत हुन्।
तत्कालीन जनमोर्चाका अध्यक्ष समेत रहेका शेरचन माओवादीसँग पार्टी एकतापछि भने राजनीतिमा धेरै प्रखर सुनिएका थिएनन्। यद्यपि, एकीकृत पार्टीको स्थायी समिति सदस्य समेत थिए। एमाले र माओवादीबीच एकता भई नेकपा गठन भएपछि उनी झनै छायामा परेका थिए। हाल उनी नेकपाको स्थायी आमन्त्रित केन्द्रीय सदस्य हुन्।
पछिल्लो आम निर्वाचनमा उनले कुनै पदका लागि प्रतिस्पर्धा गरेनन्।
२०१७ सालदेखि बामपन्थी राजनीतिमा लागेका शेरचन झन्डै १६ वर्ष भूमिगत भएका थिए। उनी ३ वर्ष जेलसमेत परेका थिए।
शेरचनले २०६४ सालमा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा चितवन ५ बाट तत्कालीन एमालेका उम्मेदवारलाई पराजित गरेका थिए। २०७० मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा भने पराजित भए। उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले पराजित गरेका थिए।
धर्मनाथ यादव– प्रदेश ५
यादव नेकपाको केन्द्रीय सदस्य हुन्। तत्कालीन नेकपा एमालेको मेची महाकाली अभियानअघि २०७३ फागुन २० गते झापाको विर्तामोडमा बसेको स्थायी समिति बैठकले थपेका १२ केन्द्रीय सदस्यमा उनी पनि थिए। २०४८ सालको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार भए पनि पराजित भएका थिए।
गोविन्द कलौनी– कर्णाली
कञ्चनपुरबाट नेकपाको राजनीति गरिरहेका छन्, कलौनी। उनी पूर्व एमालेका विभिन्न कमिटीहरुमा रहेर आफ्नो जिम्मेवारी पूरा गरेका छन्। उनी २०३५ सालदेखि २०३७ सालसम्म अनेरास्ववियु (एकताको पाचौँ) को सदस्य थिए।
२०३६ साल देखि २०४७ साल सम्म नेपाल राष्ट्रिय शिक्षक संगठनको डडेल्धुरा जिल्ला सदस्य भए। पाचौ राष्ट्रिय सम्मेलन बाट केन्दिय कमिटी सदस्य निर्वा्चित पनि भए। त्यस्तै, २०३९ सालदेखि २०४१ सम्म डडेल्धुरामा 'माक्र्सवादी अध्ययनदल'को प्रमुख भएका थिए।
२०४७ सालमा माध्यमिक विद्यालयको प्रधानाध्यापक पदबाट राजिनामा दिएर उनी पार्टीको पूर्णकालीन सदस्य बनेका थिए।
उनी २०५२ सालमा नेकपा (एमाले) बैतडी जिल्ला कमिटी सचिव, २०५४ सालमा नेकपा (माले) केन्द्रीय कमिटी सदस्य (महाकाली इन्चार्ज) र २०५९ सालमा नेकपा (एमाले) केन्द्रीय लेखा परिक्षण कमिटी सदस्य भए।
कलौनी तीन पटक आम निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका छन्। तर, उनी तिनैपटक सफल भएनन्। उनले २०५१ सालमा डडेल्धुरा, २०५६ मा बैतडी र २०६४ मा कञ्चनपुरबाट चुनाव लडेका थिए।
शर्मिला पन्त त्रिपाठी– सुदूरपश्चिम
शर्मिला पन्त पूर्व माओवादी पक्षकी हुन्। द्वन्द्वकालमा भूमिगत राजनीतिमा नलागे पनि उनले आस्था राखेकै आधारमा पति गुमाएकी थिइन्। २०६० साल असोज ९ गते उनका श्रीमान ज्ञानेन्द्र त्रिपाठी कोटेश्वर तीनकुनेबाट वेपत्ता भएका थिए। सादा पोशाकमा आएका सुरक्षाकर्मीले उनलाई केही सोधपुछ छ भन्दै लगेका थिए। त्यसयता उनले श्रीमान् देख्न पाएकी छैनन्। श्रीमान् बेपत्ता भएपछि भने माओवादीमा सक्रिय भइन्।
राज्यले नै श्रीमानलाई बेपत्ता बनाएपछि खोजीका लागि उनले निकै संघर्ष गरिन्। उनले मानव अधिकार आयोगदेखि ओएचसिआरसम्म हारगुहार गरिन्। तर श्रीमानको पत्तो नलागेपछि बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्चमा मुद्दा दायर गरिन्। सर्वोच्चले सुरुमा कारण देखाऊ आदेश जारी गर्यो। तर, बन्दीको अवस्थाबारे केही जानकारी हुन नसकेपछि २०६० मागमा उनको रिट खारेज भएको थियो। त्यसपछि उनी राज्यबाट बेपत्ता पारिएका मानिसहरुका निम्ति सर्घषमा उत्रिइन्। २०६२ सालमा उनी उक्त समाजको अध्यक्ष भइन्।
त्रिपाठी पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री भएका समयमा नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य भएकी थिइन्। माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति मन्त्रालयबाट गठन भएको द्वन्द्व पीडितका लागि गठित कार्यदलको सदस्य समेत भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।